मन्त्रीद्वारा अस्पतालको शिलन्यास, स्वास्थ्यमा क्रान्तिको घोषणा


मंसिर १५/ नारायण कोइराला: भीरकोट नगरपालिका वडा नं ६ एकुवारमा १५ शैयाको भीरकोट नगर अस्पतालको शिलान्यास भएको छ।

हाल संचालनमा रहेको खिलुङ्देउराली स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै संघीय सरकारका भूमिव्यवस्था , गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालको विशेष पहलमा नगर अस्पतालको योजना अगाडि बढेको हो। नगरपालिकाद्वारा आयोजित औपचारिक कार्यक्रममा मन्त्री अर्यालले नै भीरकोट नगर अस्पतालको शिलान्यास गर्नुभएको हो।

आफु स्वास्थ्य मन्त्री हुँदा गरेको नगर अस्पताल निर्माणको प्रतिबद्धतालाई पूरा गर्न पाएकोमा प्रफुल्लित हुँदै मन्त्री अर्यालले सुरुमै नगरप्रमुख छायाराम खनालको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। उपचारका क्रममा काठमाडौं रहनुभएका नगरप्रमुख खनाललाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले ‘समृद्ध नेपाल ,सुखी नेपाली’ र ‘आरोग्य नेपाल निरोगी नेपाली’ भन्ने नारालाई मूर्त रुप दिन संघीय सरकार लागी परेको बताउनुभएको थियो।

आजको दिन देशभर ३९६ पालिकाहरूमा नगर अस्पतालहरूको शिलान्यास भएको बताउँदै मन्त्री अर्यालले संघीय सरकारले स्वास्थ्यको क्षेत्रमा ऎतिहासिक क्रान्ति गर्न लागेकोमा खुसी व्यक्त गर्नुभएको थियो।

संघ,प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयबाट नै देशको समृद्धि सम्भव रहेको कुरामा जोड दिँदै भीरकोटको विकासमा संघीय सरकारले बहन गर्नुपर्ने सम्पूर्ण विकास निर्माणका कार्यहरू गर्न आफु तयार रहेको बताउनुभएको थियो।अस्पतालका लागी स्थानीय स्तरबाट पहल गर्ने नेपाली काङ्ग्रेस नगर सभापति तोयनाथ अर्याल, वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्री (रामकाजी),नेकपा भीरकोट नगर सचीव विश्वनाथ अर्याल लगायतका व्यक्तिहरूलाई अस्पताल समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्नका लागी नगरपालिकासँ समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभएको थियो।कार्यवाहक नगरप्रमुख सिमा केसी कर्माचार्यले नगर अस्पताल निर्माणमा विशेष पहल गर्नुभएको मन्त्री अर्याललाई धन्यवाद दिंदै समयमै अस्पताल निर्माण गर्न नगरपालिका लागी पर्ने बताउनुभएको थियो। ९ रोपनी क्षेत्रफलमा निर्माण हुने नगर अस्पतालको कूल बजेट १८ करोड ६ लाख ८२हजार रहेको छ।

Share Post on Social media