योग दिवसको अवसरमा अर्जुनचौपारीमा सरसफाइ कार्यक्रम सम्पन्न
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अन्तराष्ट्रिय योग दिवस -२०२४ को अवसरमा योगासहित सरसफाइ कार्यक्रम गरी मनाइएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा `आफू र समाजको लागि योग´ भन्ने मुल नारासहित बजार क्षेत्रका आमा समूह, युवा क्लब तथा पालिकाका कर्मचारी लगायतको उपस्थितिमा पालिकाको प्राङ्गणमा योगा कार्यक्रम गरी अर्जुनचौपारी बजारदेखि मजुवा बजारसम्म सरसफाइ गरी विश्व योग दिवस मनाइएको हो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाले योग र ध्यानको लागि पालिकाले सधैं प्राथमिकताका साथ अगाडि बढाउने कुरा व्यक्त गरेका थिए ।
त्यस्तै, अर्जुनचौपारी आयुर्वेद शाखाका कबिराज शिवप्रसाद अर्यालले आफू र समाजको लागि योग भन्ने विषयमा प्रशिक्षण दिँदै उचित आहार बिहार र स्वस्थ जीवनशैलीको बारेमा जानकारी दिएका थिए ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रनबहादुर थापाको अध्यक्षतामा सम्पन्न विश्व योग दिवसको कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैद्य निरीक्षक ललित थापाले सञ्चालन गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्