अर्जुनचौपारी आँखा उपचार केन्द्र, स्थापनाको एक वर्ष नपुग्दै ७०० बढीको उपचार

असार १७/जीवन अर्याल: अर्जुनचौपारी गाउँपालिकाले आफ्नै प्रशासकीय भवनमा अर्जुनचौपारी गाउँपालिकाका स्थानीयलाई आँखा उपचार सेवा दिने उदेश्यले खोलिएको आँखा उपचार केन्द्र वरदान सिद्ध भएको छ।

दुरदराजमा बसोबास गर्ने बासिन्दालाई स्याङ्जा, पोखरा जाने झण्झटबाट मुक्ति दिन मात्र नभई सुलभ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउन करिब एक वर्षअघि हिमालयन आँखा अस्पताल पोखरा तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोग र अर्जुनचौपारी गाउँपालिकाको सहजीकरणमा पालिकाको प्रशासकीय भवनमा आँखा उपचार सेवा सुरु गरिएको थियो।

हाल निकै सहुलियतपूर्ण दरमा आँखाको चेकजाँच तथा उपचार, औषधि वितरण, परामर्श सेवा, आवश्यकता अनुसार चस्मा निर्माण, अत्याधुनिक प्रविधिको प्रयोग गरी मेशिनबाटै आँखासम्बन्धी सेवाहरु प्रदान गरिएको जानकारी आँखा उपचार केन्द्र अर्जुनचौपारीमा कार्यरत नेत्र सहायक सरिता गुरुङले दिइन्।

उनका अनुसार हालसम्म ६८९ जनाले सेवा लिएका छन्। आँखाको शल्यक्रिया गर्नुपर्ने र विशेषज्ञ सेवा चाहिने अवस्थाका बिरामीलाई हिमालयन आँखा अस्पताल पोखरासम्म पुर्याउने व्यवस्था समेत मिलाइएको छ।

अर्जुनचौपारी गाउँपालिकाबाट मात्र नभई छिमेकी आँधीखोला गाउँपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाबाट समेत आँखाका बिरामीहरु सेवा लिन अर्जुनचौपारी पुग्ने गरेका छन्।

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिएअनुसार अब अर्जुनचौपारी गाउँपालिकाले हरेक विद्यालयलाई लक्षित गरी घुम्ती आँखा शिविर सञ्चालन गर्ने र अर्जुनचौपारी गाउँपालिकामा अध्ययनरत विद्यार्थी मात्र नभई शिक्षक समेतलाई नेत्र सेवा उपलव्ध गराउने गरी तयारी गरिएको छ।

Share Post on Social media
 
 
  
John Doe

John Doe is a Famous Writer.