के छ प्रधानमन्त्रीको पत्रमा त्यस्तो?

मंसिर २१/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान दोहोर्याएका छन्।

आइतबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा दुई पृष्ठ लामो लिखित पत्र पेस गर्दै अध्यक्ष ओलीले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा पेस गरेको अभियोगपत्र छलफल हुने बैठकमा आफू सहभागी हुन नसक्ने धारणा राखेका हुन् । ‘पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु,’ पत्रमा लेखिएको छ, ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत नि:शर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत छ ।

एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा जानु पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।’

Share Post on Social media