कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाईयो

चैत्र १३/स्याङ्जा: तोलाकान्त बगाले:

स्याङ्जाको वालिङमा आज एकदिन सामुदायिक तथा घरमा पालिएका कुकुरहरुलाई बन्ध्याकरण तथा खोप लगाईएको छ । वालिङ नगरपालिकाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा लियो क्लब अफ वालिङ सिटीको सहयोगमा एकदिने निशुल्क रेविज रोग नियन्त्रणका लागि कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाईएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बजारमा छाडा कुकुरको संख्या बढ्दै जाँदा होहल्ला हुने र कुकुरको टोकाईले रेबिज रोगको संक्रमण हुनसक्ने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणकासाथै रेबिज विरुद्धको सुई लगाईएको बताउनुभयो ।

“रेबिज रोग कुकुरबाट मान्छेमा सर्ने भएकाले यसको रोकथामका लागि सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर खोप तथा स्थायी बन्ध्याकरण गरिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले कुकुरहरुको नियन्त्रण र सही ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँदै प्राविधिक सहयोगका लागि भेटेरिनरी अस्पताल लगायत शिविरलाई सफल पार्न सहयोग गर्ने संघ संस्था क्लब तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. बज्रकिशोर ठाकुरले पशुबाट मान्छेमा सर्ने रोगको नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि नगरपालिकासित सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका पशु सेवा शाखाका डा. बसन्त अधिकारीले शिविरमा सामुदायिक कुकुर तथा घरमा पालिएका कुकुरहरुलाई शिविर स्थलमा ल्याई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

रोग लागिसकेपछि पछुताउनुभन्दा पनि रोग लाग्नै नदिनु वेश हुने भएकाले आफ्नो स्वास्थ्यप्रति सबै सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नगरका प्रत्येक १४ वटै वडामा यस खालका शिविरहरु सञ्चालन गर्ने बताउनुभयो । वालिङका नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्यसम्बन्धी आँफू पनि सचेत रहन र अरुलाई पनि सचेत बनाउन सबैले सहयोग गर्नु आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, कार्यपालिका सदस्य यूगमाया पंगेनीले गाउँ गाउँमा आएको स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य अवस्थाकाबारेमा परीक्षण गराई समयमै सुरक्षित रहन आग्रह गर्नुभयो ।

वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव चेतनप्रसाद अर्यालले गर्नुभएको थियो ।

Share Post on Social media