अख्तियारको डाम,वडाध्यक्ष र वडासदस्यको पद गयो,सेवाग्राहीलाई सास्ती

माघ १६/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ का निर्वाचित वडाध्यक्ष र वडा सदस्य नागरिकता बनाइदिने भन्दै घुस लिएपछि अख्तियारको फन्दामा परेका छन्। 

कानूनको पालना गर्ने ठाउँमा बसेरै गैरकानूनी कार्यमा जनप्रतिनिधि सहभागी बनेपछि सिंगो वडाबासीलाई नै सरमिन्दा महसुस भएको छ। नागरिकता बनाइदिने भन्दै १ लाख ३५ हजार घुस सहित समातिएपछि अनुसन्धानको अन्तिम नतिजा नआउन्जेलसम्मको लागि उनीहरु निलम्बनमा परेका हुन् र सम्भवत: उनीहरु अब कानूनद्वारा निश्चित समयसम्मको लागि अयोग्य ठहरिने छन् र आफ्नो कामकारबाही गर्ने छैनन्। 

वडा आफैमा स्थानीय निकायको एक अधिकारसम्पन्न निकाय हो।  नागरिकता देखि राहदानी सिफारिस , बिभिन्न पेशा तथा उद्योग संचालन गर्न, युवा क्लब देखि आमा समूह दर्ता गर्न दर्ता सिफारिस , नाता प्रमाणिकरण सिफारिस, जन्मदर्ता लगायतका सबै कार्यहरु संचालन हुने निकायमा सम्वन्धित अख्तियारवाला नै बर्खास्तीमा परेपछि सेवाग्राहीलाई सास्ती भएको छ । 

सेवा लिन आएका बिभिन्न उमेर समूहका सेवाग्राहीले सेवा प्राप्ति गर्न निकै समस्या भएको नाम उल्लेख नगर्ने शर्तमा एक सेवाग्राहीले बताए। भनेको बेला सेवा नपाइने, सेवा लिनको लागि कर्मचारीमा भर पर्दा समयमै सेवा पाउन नसकिने, जनप्रतिनिधि मार्फत हुने बिभिन्न कामहरु अलपत्र पर्ने अवस्था रहेको स्थानीयवासीले जनाएका छन् । 

“स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ मा कार्यवाहक भई कार्य गर्न सक्ने” बारे ब्याख्या छ, जसअनुसार वडा अध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरुले आफू मध्येबाट छनौट गरेको सदस्यले कार्यवाहक वडा अध्यक्ष भई काम गर्नेछ वा कुनै वडाको निर्वाचन नभएसम्मका लागि कार्यपालिकाले कुनै कर्मचारीलाई वडा अध्यक्षको कार्य गर्ने गरी तोक्न सक्नेछ भनिएको छ।  यसबारे खबरकलमले बुझ्न खोज्दा उक्त वडामा कार्यरत कर्मचारीले हाम्रो फोन उठाएनन् भने नगर सूचना अधिकारी रामप्रसाद खनालले आफूलाई यसबारे थाहा नभएको गैरजिम्मेवार प्रतिकृया दिए । 

सिंगो वडाकै प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र वडासदस्यको अमर्यादित कार्यले वडाको विकाश निर्माणदेखि नीतिनियम तर्जुमा गर्ने, स्थानीय पंजीकरण प्रमाणित गर्ने, चारकिल्ला प्रमाणित गर्ने ,घरजग्गा मूल्यांकन, छात्रवृत्ति सिफारिससम्मको कार्यमा असहजता थपिएको छ। 

उनीहरु दुवै वडाध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ गत स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भीमबहादुर गुरुङ विरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अदुअआ पोखराका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।

Share Post on Social media