स्याङ्जाका प्रहरी निरीक्षक “Police Of The Month” सम्मानद्वारा सम्मानित

चैत १/रामबहादुर रोका: जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत नेपाल प्रहरीका प्रहरी निरीक्षक “उत्कृष्ट प्रहरी” सम्मानद्वारा सम्मानित भएका छन् ।


हरेक महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ । यसै क्रममा आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारी र बफादारीका साथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन गरी आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने काम गरेकोमा प्रहरी निरीक्षक शिव थापालाई माघ महिनाको “Police of The Month” सम्मानद्वारा सम्मानित गरिएको हो ।


आफ्नो जिम्मेवारी अन्तर्गत गत पौष महिनाको २१ गतेका दिन स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नं.१ पल्लोस्वाँरा स्थितमा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गरी सफलताका साथ अनुसन्धान गर्नमा अहम भुमिका निर्वाह गरेका थिए । त्यस्तै निज निरीक्षकले जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न शीर्षकका चालू तथा पेन्डिङ अवस्थामा रहेका मुद्दाहरुको सफल अनुसन्धान गरि मुद्दा फछ्र्यौट , साथै विभिन्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आम नागरिक सामु नेपाल प्रहरी संगठनको नाम उच्च गराएकोमा उनी सम्मानित भएका हुन् ।
विभागीय नीति निर्देशनलाई पुर्ण रुपमा पालना गर्दै लगनशील तथा कर्तव्यनिष्ट भई उच्च व्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गरेकोमा निज प्रहरी निरीक्षक शिव थापालाई २०७८ साल माघ महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
निज उत्कृष्ट प्रहरी निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले कदर-पत्र प्रदान गर्दै आगामी व्यवसायिक सफलताको कामना एवं बधाई दिनुभएको हो । हरेक महिना कामको प्रगति अनुसार उत्कृष्ट प्रहरी सम्मान पदकबाट प्रहरी संगठन केन्द्रीय कार्यालयको नीति अनुसार प्रहरीहरु सम्मानित गर्दै आएको डिएसपी अधिकारीले बताउनुभयो ।

Share Post on Social media