भीरकोट साना किसान सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

चैत ५/स्याङ्जा:- जीवन अर्याल: भीरकोट साना किसान सहकारी संस्था लिमिटेड भीरकोट ६ बगरेबजारले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ। बालोदय आवासीय मावि बगरेबजारको प्राङ्गणमा सहकारीले आज साधारणसभा सम्पन्न गरेको हो।

आज सम्पन्न भएको उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका सांसद् माननीय मोहन रेग्मीले विकास निर्माण कार्यमा राजनीति भन्दा माथि उठेर रचनात्मक सहयोग गर्नुपर्ने तथा प्रदेश सरकारले पारेका योजनाहरु पूरा हुनुपर्ने कुरामा जोड दिएका थिए। आफू सर्वसाधारणको साझा व्यक्ति भएकाले आफ्ना पीरमर्का निर्धक्क भएर सुनाउन र सहकारीको विकासमा डटेर अघि बढ्न हौसला प्रदान समेत गरेका थिए।

यस्तै, विशिष्ट अतिथिको रुपमा आफ्नो भनाई राखेका भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले सहकारीको विकासका लागि आफू र नगरपालिका सदैव तयार रहेको भन्दै सहकारीलाई राजनैतिक रंग नदिई साझा संस्था बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। सहकारी मार्फत पशुबिमा, कृषिसम्बन्धी कार्य गर्न र नगरपालिकालाई सहकारी मार्फत गाउँ-गाउँमा पुर्याउन तयार रहेको भन्दै सहकार्यमा जोड दिएका थिए। एक घर एक सहकारी प्रवर्द्धनका निमित्त नगरपालिकाले विपन्न परिवारलाई एक हजार रुपैयाँ बराबरको शेयर नगरपालिकाले प्रदान गरिदिने समेत उनको धारणा थियो।

अन्य विशिष्ट अतिथिहरु भीरकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मण खत्री, नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, भीरकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर बस्नेत, माछापुच्छ्रे सहकारी संस्था लिमिटेडका अध्यक्ष डोलराज ढुंगाना, तुलसी भञ्ज्याङ साना किसान सहकारी संस्था लिमिटेडका प्रबन्धक शम्भु अधिकारी, ग्रामीण कृषि सहकारी संस्था लिमिटेडकी प्रबन्धक सरिता अधिकारी लगायतका वक्ताहरुले सहकारी प्रवर्द्धनका निमित्त आफ्ना धारणा राखेका थिए।‌‌

संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सहकारीले गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। उनका अनुसार आगामी आर्थिक वर्षमा २००० शेयर सदस्य पुर्याउने, सम्पूर्ण आर्थिक कारोबार कम्प्युटर र सफ्टवेयर मार्फत गराउने, अनुदानका कार्यक्रम सञ्चालन गराउने, कृषकलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने लगायतका योजना प्रस्तुत गरेका थिए।

संस्थाका शेयर सदस्य पर्वत खाम्चाले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डासिनारायण अर्याल तथा धन्यवाद ज्ञापन संस्थाकै संचालक समिति सदस्य भगवती शर्माले गरेकी थिइन्। करिब ३५०‌ जना शेयरसदस्यहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

उत्पादनमा शेयर सदस्यहरुको सक्रियता बढाउन सहकारीले काक्रो, घिरौंला, सिमी, बोडी, लौका, रायोको साग, भिन्डी लगायतका तरकारीको बीउ समेत उपलब्ध गराएको थियो।

Share Post on Social media