काँग्रेसको आमसभा जस्तै भयो चापाकोटको प्रशासकीय भवन उद्धघाटन, पत्रकारलाई समेत फोटो खिच्न दिइएन
स्याङ्जा , चैत १३: निर्वाचन प्रणालीमा कुनै दलको उम्मेद्वार निर्वाचन सम्पन्न भएपश्चात साझा हुनुपर्दछ । पछिल्लो समय स्थानीय तह पार्टीको कार्यालय नै बन्न थालेका छन् । बिहीबार चापाकोट नगरपालिकामा पनि यस्तै दृश्य देखियो । ठुलो धनराशि खर्च गरेर तामझामको साथ चापाकोट नगरपालिकाको भवन उद्धघाटन गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गरिएको थियो ।
०७२ सालमा करिव ५ करोडमा निर्माण गरिएको प्रशासकीय भवनको उद्धघाटन नगरपालिकाको प्राङ्गणमा गरिएको थियो । त्यो भवन कुनै राजनैतिक दलको थिएन। नगरबासीको साझा हो। तर , मंच हेर्दा नेपाली काँग्रेसको आमसभा भन्दा फरक थिएन। छिमेकी जिल्ला पाल्पादेखि छिमेकी पालिकाका नेपाली काँग्रेसका निर्वाचीत जनप्रतिनिधिले मंच भरिभराउ थियो । मंचमा झण्डा मात्र थिएन अरु पार्टीको आमसभा जस्तै थियो।
नगरपालिकाको भवनमा नेपाली काँग्रेसका कार्यकर्ता तथा नेताको मात्र पहुँच हुनुपर्छ भन्ने होइन आमसर्वसाधारणको उत्तिकै अधिकार छ। त्यही मंचमा पार्टी प्रवेश सम्म गराइएपछि चापाकोटबासीले यो कार्य घृणित भएको टिप्पणी गरेका छन् । साझा थलोमा , राज्यको सम्पत्ति प्रयोग गर्दै पार्टीको कार्यक्रम गर्नु सत्ता र शक्तिको दुरुपयोग भएको नगरबासीको भनाई छ।
नेकपा माओबादीको अघिल्लो निर्वाचनमा उपप्रमुखको प्रत्यासी सिता आचार्य सहित करिव एक दर्जनलाई पार्टी प्रवेश गराइएको थियो । ‘कुनै पनि कार्यक्रममा पार्टी प्रवेश गर्नु गराउनु कुनै नौलो विषय होईन । तर , राज्यको खर्चमा र स्थानीय तहको हाता भित्र यो कार्यले स्पष्ट पार्दछ कि चापाकोट नगरपालिकामा खुलेआम राजनीति भैरहेको छ । ’ चापाकोट—९ सुन्तलीटारका एक स्थानीयले भने।
त्यसो त नगरपालिकाको प्रत्येक योजना एकपक्षीय हुने , भूगोल केन्द्रीत हुने र कार्यकर्ताको मात्र पहुँचमा हुने समस्या नगरबासीले भोग्दै आएका छन् ।
संचारकर्मीलाई सास्ती :- पाएनन् उद्धघाटनको फोटो खिच्न!
सुरक्षाको दृष्टिकोणले समाचार संकलन गर्न गएका संचारकर्मीलाई समेत सास्ती भएको थियो । सुरक्षाकर्मी तथा प्रधानमन्त्रीका गार्डले संचारकर्मीलाई मंचको अघिल्लो भागमा जान रोक लगाए । जहाँ , साउण्ड सिस्टम र संचारकर्मीले छायाँकन गर्ने स्थल बनाइएको थियो।
नगरको भवन उद्धघाटन कार्यक्रममा प्रधानमन्त्रीले भवन उद्धघाटन गरेको दृश्य नै खिच्न पाएनन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार बाहेक अरु संचारकर्मीले त्यो दृश्य खिच्न नपाएपछि अधिकाशं मिडिया हाउसले राससको तस्बिर प्रयोग गरेका थिए । त्यहाँ गएका संचारकर्मी दङ्ग परे । ‘भवन उद्धघाटन त भयो , मंचमा दियो बालेको दृश्य तथा तस्विर प्रयोग गर्नुपर्यो ।’ संचारकर्मीको भनाई थियो।
प्रधानमन्त्री अन्यौल, “नगर हो कि गाउँपालिकाको उद्धघाटन”
प्रधानमन्त्री शेर बहादुर देउवाले उद्धघाटन गरेको कार्यक्रमा देउवा नै अन्यौल छन् । आँफूले उद्धघाटन गर्ने कार्यक्रम नगर हो कि गाउँपालिकाको हो भन्ने विषयमा स्पष्ट नभई कार्यक्रममा सम्बोधन गरे । चापाकोट नगरपालिकाको भवन उद्धघाटन गर्न आएका देउवा आँफुले नगरपालिका मा हो कि गाउँपालिकामा आएको हो भन्ने विषयमा पत्तै पाएनन् ।
नयाँ भवनको झै तामझामसहित उद्धघाटन गरिएको नगरपालिकाको भवन नयाँ भवन नभई तला थप गरिएको भवन हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्