राजनीतिको अखडा बन्दै छायाँक्षेत्र मन्दिर, आचारसंहिता उलंघन गर्दै मन्दिरमै चुनावी प्रचार

वैशाख १/खबरकलम डटकम: कुनैबेला स्कन्दपुराण र स्वस्थानी ब्रतकथामा समेत चर्चा र उल्लेख गरिएको छायाँक्षेत्र मन्दिरमा अहिले राजनीति मौलाउँदै गएको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ४ स्थित छाङ्छाङ्दी मन्दिरमा‌ पछिल्लो समय काँग्रेसको राजनीति र झण्डा मौलाउँदै गएको छ। वि.सं. २०७९ साल वैशाख ३० गते हुने घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मन्दिरमै राजनीतिको फोहर संष्कार भित्राएको छ।

मन्दिर भनेको सबैको आस्था र विश्वासको केन्द्र हो। जहाँ केवल मानव कल्याण र शान्तिको कामना गर्दै प्रार्थना र भक्तिभावको निमित्त जाने गरिन्छ।‌ तर, वैशाख सक्रान्तिको अवसरमा आज लागेको संक्रान्ति मेलामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता झण्डासहित प्रचारप्रसार गर्न पुगेका हुन्।

नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा नगरप्रमुखमा निर्वाचित मेयर छायाराम खनाल, नेपाली कांग्रेसकै वडा नं ७ बाट निर्वाचित वडाध्यक्ष शेषकान्त अर्याल, छायाँक्षेत्र मन्दिर संरक्षण समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ मात्रै नभएर नेपाली कांग्रेसका भीरकोट नगरसभापति तथा वडा नं ५ का निर्वाचित वडाध्यक्ष लक्ष्मण अधिकारी, वडा नं १ का वडाध्यक्ष तथा नगरप्रवक्ता दीपेन्द्र केसी, नगरसचिव नन्दलाल खनाल, नगरउपसभापति विष्णुमाया काफ्ले, चण्डिका अर्यालसहितको चारतारे झण्डावाला टोली मन्दिर परिसरमै पुगेर चैत २५ बाट लागू भएको निर्वाचन आचारसंहिता उलंघन गरी चुनावी प्रचारमा लागेको हो।

यसरी खुलेआम रुपमा मन्दिरमा वहालवाला मेयर आफ्नो पार्टीको झण्डा सहित नेता कार्यकर्ता बोकेर पार्टीको प्रचार गर्न पुग्नु आफैमा निर्लज्जताको पराकाष्ठा हो। मन्दिरमा गरिने राजनीतिलाई किमार्थ स्वीकार्य मान्न सकिदैन। यो गलत भएको हो। र, गलत हो। मन्दिर दर्शन गर्न गएका श्रदालु भक्तजनले खबरकलमलाई बताए।‌ उनीहरुले थपे,” पार्टी काँग्रेस या एमाले जुनसुकै किन नहोस्। यो पद्धति गलत हो।”

यस्तोखालको हर्कतबाट मन्दिरको गरिमा र आँचमा खलल पुग्ने र धार्मिक सद्भावमा संकट निम्तन सक्ने खतरा उत्पन्न भएको सरोकारवालाहरु बताउँछन्। कुनै पनि राजनैतिक पार्टी या चिन्तनले यो या त्यो वहानामा गरिने यस्ता खालका कार्यहरु समाजको कुनै पनि अनुशासनका निमित्त पाच्य नहुने उनीहरुको ठम्याइ छ।

मन्दिर परिसरमा श्रदालु भक्तजनहरुको भीड

आज भीरकोट नगरपालिकाका‌ मेयर छायाराम खनाल काँग्रेसको चारतारे झण्डा सहित मन्दिरमा पार्टीको प्रचार गर्न पुग्नु कुन हदसम्मको गैरधार्मिक कार्य हो? भोलिका दिनमा अन्य पार्टीका नेता कार्यकर्ता झण्डा, टिसर्ट, र ब्यानर सहित पुगे छायाँक्षेत्र मन्दिरको धार्मिक गरिमामा के असर पुग्छ? यससम्बन्धी थप जानकारीको लागि खबरकलम संवाददाताले मन्दिर संरक्षण समितिका अध्यक्ष पिताम्बर श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा पाँच पटक फोन काटेर अफ गरे।‌‌

निर्वाचन आयोगले निकालेको आचारसंहिता निर्देशन पत्र

केही समयअघि स्याङ्जा कतार सम्पर्क मञ्च भीरकोट इकाई दोहा कतारले आयोजना गरेको कुर्सी हस्तान्तरण कार्यक्रममा छायाँक्षेत्र मन्दिर संरक्षण समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले मन्दिर परिसरमा राजनीति गर्न नपाइने र आफू मन्दिरलाई राजनीति गर्ने स्थान बनाउनबाट जोगाउन हरदम तयार रहेको भाषण ठोकेका थिए।‌ तर, आफैले बोलेको कुरा आफैले कुल्चेर आज चुनावी प्रचार कार्यक्रममा मन्दिरमा आफै संलग्न हुनु र थप बुझ्न खोज्दा फोन काटेर अफ गर्नुले उनको चरित्र प्रष्ट हुन्छ।‌

कुनैपनि समुदायको धार्मिक महत्व बोकेको धरोहरमा राजनीति गर्न पाइँदैन। यो कुरा हालै निर्वाचन आयोगले लागू गरेको चुनावी आचारसंहितामा समेत प्रष्ट रुपमा उल्लेख गरिएको छ।

Share Post on Social media