भीरकोट नगरपालिका नगरप्रमुखका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका विश्वनाथ अर्यालसँग अन्तर्वार्ता
यसबखत सिंगो देश नै स्थानीय तहको निर्वाचनमा होमिएको छ। देशैभर विभिन्न राजनीतिक दल र दलका कार्यकर्ताहरु निर्वाचनको तयारी तथा प्रचारप्रसारमा खटेर लागेका छन्। यसैबीच स्याङ्जा जिल्लामा सक्रिय राजनैतिक दलहरु पनि प्रतिबद्धता-पत्रसहित चुनावी तयारीमा लागेका छन्।
यसैबीच स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच यो पटक कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको पदमा पूर्व गाविस अध्यक्ष गोविन्दकुमार कर्माचार्यले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेका तर्फबाट पूर्व अनेरास्ववियु स्याङ्जा अध्यक्ष एवं वर्तमान नेकपा एमाले भीरकोटका अध्यक्ष र संभवतः नगरप्रमुखका लागि देशकै कान्छा उम्मेदवार विश्वनाथ अर्यालले नगरप्रमुखका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
प्रस्तुत छ, भीरकोट नगरपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका नगरप्रमुखका उम्मेदवार विश्वनाथ अर्यालसँग खबरकलम डटकमका सहकर्मी नारायण प्रसाद कोइरालाले लिएको अन्तर्वार्ताको संक्षिप्त कुराकानी।
१) हजुरको राजनीतिक र शैक्षिक जीवनको बारेमा संक्षिप्तमा बताइदिनुहुन्छ कि?
- भीरकोट नगरपालिकाको वडा नं ६ स्थित भाग्योदय मावि उजेलीडाँडाबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भई २०६३ सालमा विद्यार्थी राजनीतिमा प्रथमपटक प्रवेश गरेको थिएँ। २०६५ सालमा वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा निर्वाचित भएँ। २०६९ सालमा अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनबाट भारी मतले जिल्ला अध्यक्षको रुपमा निर्वाचित भएँ। यस लगत्तै नेकपा एमाले स्याङ्जाको जिल्ला सदस्य, तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी स्याङ्जा जिल्ला सदस्य तथा भीरकोट नगरपालिका सचिव र सर्वोच्च अदालतको फैसला पश्चात नेकपा विगठन भएपछि नेपाल कम्यूनिष्ट पार्टी एमालेको जिल्ला सदस्य तथा भीरकोट नगरपालिकाको नगर अध्यक्ष पदमा कार्यरत छु। र यो स्थानीय चुनावमा भीरकोट नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएको छु।
२) स्थानीय चुनावमा हजुरसँग अन्य पार्टीका चार उम्मेदवारले पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। हजुरलाई भोट हालेर जनताले के पाउँछन्?
नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको “सम्वृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई यस भीरकोट नगरपालिकामा पनि कार्यान्वयन गर्दै ” सम्वृद्ध भीरकोटको आधार: एमालेको स्थानीय सरकार” भन्ने नारा मार्फत भीरकोटको सुशासन र संमृद्धिको मार्गचित्र तयार गरेको छु। यस अभियानलाई मूर्तरुप दिन सम्पूर्ण भीरकोटवासी आमाबाबु, दाजुभाइ, दिदीबहिनीलाई मन, वचन र कर्मले साथ सहयोग सल्लाह र सुझाव दिन अनुरोध गर्दछु। भीरकोटभित्र कोही पनि सर्वसाधारण रोग,शोक र भोकले मर्नुपर्ने अवस्था आउँदैन। मैले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर काम गर्नेछु। होमस्टेलाई व्यवस्थित गरी पर्यटन व्यवसायमार्फत संमृद्धिका नयाँ आधारहरु सृजना गर्नेछु। प्रदेश र संघीय सरकारसँग सहकार्य गरी सडक यातायातको दीगो विकास गर्नेछु। नगरपालिकाभित्रका नागरिकहरुको स्वास्थ्यमा पहुँच विस्तार गर्न सम्पूर्ण नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गराउनेछु। यसैगरी एउटा आधुनिक र व्यवस्थित वैज्ञानिक अनुसन्धान केन्द्र स्थापना गर्ने महत्वाकांक्षा समेत राखेको छु।
३) यो चुनावमा तपाईंले जित्ने आधारहरू के के हुन् ?
भीरकोटलाई केन्द्र बनाएर विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय भएको हुनाले भीरकोट नगरपालिकाका सबै नागरिकको दु:खसुखमा सहभागी भई सक्दो सहयोग गरेको छु। म सबै नागरिकहरुसँग प्रत्यक्ष सम्पर्कमा रही उहाँहरुको इच्छा, आकांक्षा र चाहना अनुरुप भीरकोटको विकासको स्पष्ट मार्गचित्र लिएर अगाडी बढेको हुँदा सम्पूर्ण भीरकोटवासीले साथ, सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। र, अन्त्यमा नेकपा एमाले भीरकोटले तयार गरेको प्रतिबद्धता-पत्र एकपटक राम्रोसँग पढेर सल्लाह दिनसमेत सबैमा अनुरोध गर्दछु।
४) चुनाव प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहितालाई कत्तिको ख्याल गर्नुभएको छ ?
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताका कतिपय कुराहरू व्यवहारिक छैनन् ।चुनावी अभियानका क्रममा कहिँकतै हाम्रो पार्टीका साथीहरूले आचारसंहिता उल्लङ्घन गरेका हुन सक्छ्न्।तर हामीले भीरकोटको सत्ताधारी पार्टी नेपाली काङ्ग्रेसले जस्तो सिद्धार्थ राजमार्गका बिजुलीका पोलपोलमा झण्डा र व्यानर राखेका छैनौं । सडक अवरुद्ध हुने गरी सवारी र्याली पनि निकालेका छैनौं । हामी सुशासन र समृद्धिको नारा लिएर चुनावमा होमिएको हुँदा चुनावी आचारसंहिताको पालना गर्न हामी प्रतिबद्ध छौं।नियमनकारी निकाय निर्वाचन आयोग मुकदर्शक बन्दा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकोमा दुखी छु।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बनाउनै सबै राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको पालना गर्नु आवश्यक छ।
५) यदि तपाईं निर्वाचित हुनुभयो भने भीरकोटको विकास र संमृद्धिको लागि पाँच वर्षमा गर्ने ५ वटा मुख्य कामहरू के के हुन्?
कृषि र पर्यटनको विकासमार्फत भीरकोटको समृद्धि हाम्रो पहिलो प्राथमिकता हो।दोस्रो, दिगो र व्यवस्थित सडक पूर्वाधार विकासलाई हामीले केन्द्रबिन्दुमा राखेका छौं।बयरघारी- बिरुवा,बयरघारी-पर्वत, बगरेबजार- स्वरेकमैदान,बयरघारी- खिलुङ्कोट सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कामले मूर्तरूप लिनेछ।भीरकोटबासी जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्न घरदैलोमै घुम्ती स्वास्थ्य सेवा प्रदान गरिनेछ र सम्पूर्ण नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिनेछ।सबै धर्म संस्कृति
रक्षा गर्दै सांस्कृतिक सम्पदाहरूको मौलिक र परम्परागत शैलीमा पुननिर्माण गरिनेछ।सुशासन र सामाजिक न्यायको अनुभूति हुनेगरी काम हुनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्