राजनैतिक शुद्धीकरण अभियानका लागि स्वतन्त्र उम्मेदवारी
वैशाख १९/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदका लागि चन्द्रकान्त अर्यालले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने भएका छन्।
राजनैतिक शुद्धीकरण अभियानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। निर्वाचन कार्यालयले उनलाई चुनाव चिन्ह “हाँस” प्रदान गरेको छ। साबिकको अर्जुनचौपारी गाविस वडा नं २ को छाप भन्ने स्थानमा जन्मिएका अर्याल हालको अर्जुनचौपारी गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा हुन्।
करिब एक दशकभन्दा लामो समय कोरियामा बिताएर देशमै सेवा गर्ने उदेश्यले स्वदेश फिरेका उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेका छन्। युवा नै सक्रिय भएर शुद्धीकरण अभियानमा लागे राजनीति समेत शुद्ध हुने र आम सर्वसाधारणमा समेत यसले सकरात्मक सन्देश दिने उनको बुझाई रहेको छ।
कृषिमा आफ्नो वडालाई आत्मनिर्भर बनाउने, युवा केन्द्रीत कार्यक्रम सञ्चालन गर्ने, स्वरोजगार अभियान चलाउने, हरेक खालका सामाजिक कार्यमा युवाको भूमिका सशक्त बनाउने, गाउँको बसाइसराई दर कम गर्ने लगायतका उनका विभिन्न प्रतिबद्धताहरु रहेका छन्।
उनको अभियानमा युवाहरुको भरपर्दो साथ रहने र आफू वडाध्यक्षमा विजयी हुने उनको विश्वास छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्