स्याङ्जाको भीरकोट फेरी तनाबग्रस्त

वैशाख २८/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका फेरी तनाबग्रस्त बनेको छ। निर्वाचनको मौनअवधि सुरु भैसकेको अवस्थामा पनि झडप र तनाबका घटनाहरु सार्वजनिक भैरहनुले निर्वाचनको आचारसंहिता, निष्पक्षता र पारदर्शितामाथि प्रश्न खडा हुँदै गएको छ।‌

आज राती स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ३ बानेथोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच जम्काभेट भएको हो। नेकपा एमाले श्रोतका अनुसार नेकपा एमालेबाट भीरकोट नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका विश्वनाथ अर्याल सहितको टोलीमाथि फेरी हमला प्रयास भएको बुझिएको छ।‌

नेकपा एमाले भीरकोट इन्चार्ज सन्तोष केसीको ठूलोबुबाको केही दिन अघि दुर्घटनामा मृत्यु भएको थियो। उक्त घरमा समवेदना प्रकट गर्न गएर फर्कने क्रममा सयौँको संख्यामा लुकेर बसेका अज्ञात व्यक्तिहरुले हमला प्रयास गरेको जानकारी प्राप्त भएको छ। यसबारे वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुममा सम्पर्क गरी बुझ्दा घटना भएको र प्रहरी टोली घटनास्थलतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ।

उता काँग्रेस कार्यकर्ताहरु भने नेकपा एमालेको टोली रातको समयमा गाउँ प्रवेश गर्न खोजेकाले रोक्ने प्रयास गरिएको तर कुनै झडप नगरिएको बताउँछन्। रातको समयमा एमाले पार्टीको झण्डावाला गाडीसहित गाउँ प्रवेश गर्न खोजेपछि रोकिएको मात्र हो, नेपाली कांग्रेस सम्बद्ध श्रोतले जानकारी दिएको छ।‌

हिजोबाट मात्रै निर्वाचनको लागि मौन अवधि‌ सुरु भएको र मौन अवधिमा हुनुले समग्र सुरक्षा व्यवस्थामाथि चुनौति खडा भएको छ। चुनावको मौन अवधिमा हुने जुनसुकै पनि पार्टी या कार्यकर्ताका विरोध, झडप, चुनावी नतिजा प्रभावित गर्ने कार्य आचारसंहिता विपरित हुन्। राजनैतिक दल र कार्यकर्ताले मौन अवधिमा कुनैपनि राजनीतिक गतिविधि गर्न, चुनावी प्रचार गर्न, मत माग्न पाउँदैनन्।

आजै मात्र स्याङ्जा जिल्लामा प्रजिअ सहित जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभरको सुरक्षा व्यवस्था कडा पार्ने र अनुगमन कार्य थप सशक्त बनाउने निर्णय गरेको थियो।

Share Post on Social media