नेपाली सेनाद्वारा स्याङ्जाको नुवाकोट गढीमा निर्माण गरिएका संरचनाहरुको हस्तान्तरण कार्यक्रम सम्पन्न

असार २०/स्याङ्जा:


राम बहादुर रोकाहा ,
नेपाली सेनाले स्याङ्जा जिल्ला कै ऎतिहासिक महत्त्व बोकेको नुवाकोट गढीमा गरिएको मर्मत सम्भार लगायतका कार्यहरु एक कार्यक्रमबिच उद्घाटन गरी श्री कालाभैरव पुरातात्त्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.-५ स्थितमा रहेको जिल्लाकै ऎतिहासिक , पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको नुवाकोट गढीको मर्मत सम्भार साथै राजाको चौतारी पुनर्निर्माण नेपाली सेनाले गरेको हो ।


वि.सं. १५१० मा राजा मिन्चारखानबाट स्थापना भएको उक्त “नुवाकोट गढी”को आवश्यकता अनुसार मर्मत सम्भार , चौतारी पुनर्निर्माण , पुरानो टुडिखेल पेरिमिटरमा जालीबारसहित गेट निर्माण गरिएको श्री समरजित गुल्म आँधिखोला ब्यारेक स्याङ्जाको व्यवस्थापनमा श्री मध्य कमान्ड हेड क्वाटर पोखराका कमान्ड सेनापती उपरथी श्री बाबुराम श्रेष्ठ ज्युबाट उद्घाटन गरी नुवाकोट गढी व्यवस्थापन समितिलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।


उक्त निर्माण गरिएका संरचनाहरु हस्तान्तरण गर्दै उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामा धेरै परिवर्तन आएको बताए । उनले नेपाली सेनाले सामाजिक कार्य, रचनात्मक साथै उदाहरणीय कार्य गर्दै आएको बताए । श्रेष्ठले नुवाकोटगढीमा श्री कालाभैरव पुरातात्त्विक मन्दिर साथै अन्य प्राचीन सामरिक महत्त्व बोकेको स्थान रहेकोले नेपाली सेनाद्वारा मर्मत सम्भार गरिएको बताए ।


श्री समरजित गुल्म आँधिखोला ब्यारेक स्याङ्जाको समन्वय र मध्य कमान्ड पोखराको पहलमा QIP(तत्काल प्रभाव पार्ने परियोजना)को लागि आर्थिक वर्ष २०७८/७९ मा नेपाली सेना मध्य कमान्ड हेड क्वाटरद्वारा बिनियोजित रु. १५ लाख बजेटबाट नुवाकोट गढीको संरक्षण तथा विभिन्न संरचनाहरुको निर्माण कार्य गरिएको नेपाली सेनाको समरजित गुल्म स्याङ्जाका गुल्मपती सेनानी अशोक कुमार मल्लले जानकारी दिनुभयो ।


ऎतिहासिक , धार्मिक तथा प्राचीन महत्त्व बोकेका सम्पदाहरुको संरक्षण नेपाली सेनाले गर्दै आएको र स्याङ्जाको नुवाकोट गढीमा २०७८ चैत्र २४ गतेदेखि मर्मत सम्भार कार्य , पुनर्निर्माण तथा संरक्षण कार्य शुरु गरिएको श्री समरजित गुल्म स्याङ्जाका गुल्मपति सेनानी अशोक कुमार मल्लले बताउनुभयो ।


त्यस्तै पुतलीबजार नगरपालिका उपप्रमुख देवि अर्यालले प्राचीन कालका महत्त्व बोक्ने हरेक स्थानको संरक्षण गर्नुपर्ने बताउँदै नुवाकोटगढीमा संरक्षण गर्नका लागि साथै पुनर्निर्माण कार्यका लागि पालिकाबाट रु. ४० लाख रकम विनियोजन गरेको बताउनुभयो । उहाँले कालाभैरव पुरातात्त्विक क्षेत्रलाई साथै धार्मिक , ऐतिहासिक महत्त्व बोकेका हरेक स्थानलाई सबैले संरक्षण गर्नुपर्ने भनाइमा जोड दिनुभयो ।


श्री कालाभैरव पुरातात्त्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको उक्त नुवाकोटगढीमा मर्मत तथा संरक्षण कार्यमा नेपाली सेनाले धेरै सहयोग गरेको बताउनुभयो । सोही कार्यक्रममा इतिहासविद् प्राध्यापक डा. दिल बहादुर क्षेत्री लगायतकाले मन्तव्य राखेका थिए ।


नेपाली सेनाले संरचनाहरु हस्तान्तरण गर्ने सो कार्यक्रममा प्रमुख अतिथि श्री मध्य कमान्ड सेनापती उपरथी बाबुराम श्रेष्ठ , ३ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रेम पुन र समरजित गुल्म आँधिखोला ब्यारेक स्याङ्जाका गुल्मपती सेनानी अशोक कुमार मल्ललाई नुवाकोट गढी व्यवस्थापन समितिद्वारा सम्मान पत्र प्रदान गरिएको थियो ।


उक्त कार्यक्रममा ३ नं. बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी विष्णु कार्की , जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल , सशस्त्र प्रहरी बल नेपाल स्याङ्जाका प्रहरी नायब निरीक्षक दुत प्रसाद शर्मा , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय स्याङ्जाका हरिशरण नेपाली , पुतलीबजार नगरपालिका ५ नं. वडाका वडाध्यक्ष अर्जुन कुमार कार्की , मिडियाकर्मी साथै स्थानीय बासिन्दाहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

Share Post on Social media