सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाको वार्षिकोत्सव सम्पन्न

असार २२/पोखरा: सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको एक्काइसौँ वार्षिकोत्सव समारोह आज पोखरामा सम्पन्न भएको छ।‌

पोखराको अनन्ता सामुदायिक सेवा समितिको सभाहलमा सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रमका बीच वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो। गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले उक्त वार्षिकोत्सव समारोहमा प्रमुख आतिथ्यता ग्रहण गरेका थिए।

प्रमुख अतिथिको रुपमा बोल्दै उनले सानाकिसान सहकारी संस्थाको देशभर सञ्जाल रहेको र गरिबी उन्मूलन तथा उद्यमशीलताको क्षेत्रमा संस्थाले गरेका कार्यक्रमको सह्राहना गरेका थिए। सानाकिसान सहकारी संस्था लिमिटेडको हित र उचित व्यवस्थापन गर्न आफू र आफ्नो कार्यालय तयार रहेको बताउँदै बजेट र कार्यक्रमको माध्यमबाट समेत संस्थालाई उचित सहयोग गर्ने केसीको प्रतिबद्धता रहेको थियो। वित्तीय तरलता र कर्जा प्रदान गर्न बैंक तथा सहकारीले कर्जा प्रवाह गर्न आलटाल गरिरहेका बेला सानाकिसान सहकारी संस्थाले सो अभाव चिर्दै कर्जा प्रवाह तथा प्रवाह गरिएको कर्जाको किस्ता तथा व्याज असुलीमा निकै उत्कृष्ट भूमिका खेलेको भन्दै आफू हर्षित भएको बताएका थिए।

नीतिगत व्यवस्थामा बीमा, सहुलियत ऋण, कृषि सामग्री व्यवस्थापन गर्न मन्तालय तयार रहेको सचिव केसीको भनाई रहेको थियो।‌

उक्त वार्षिकोत्सव कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका १० जिल्लाबाट साना किसान सहकारी संस्थासँग सम्बद्ध सञ्चालक, शेयर सदस्य, प्रबन्धक, सहायक प्रबन्धक, कर्मचारी तथा पत्रकार गरी करिब २०० जनाको उपस्थिति रहेको थियो।

वार्षिकोत्सव समारोहमा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्न सफल लाहाचोक साना किसान सहकारी संस्था लिमिटेडलाई सम्मान गर्दै तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो। समारोहमा सानाकिसान सहकारी विकास वित्तीय संस्था लिमिटेडका प्रबन्धक विदुर अर्यालले प्रतिवेदन प्रस्तुत तथा कार्यक्रम सञ्चालन गरेका थिए।

वि. सं. २०५८ असार २२ गते स्थापना भएको सानाकिसान विकास वित्तीय संस्था लिमिटेडमा हाल २३१ वटा साना किसान कृषि सहकारी संस्थाहरु आबद्ध भएका छन् भने उक्त संस्थाको जम्मा शेयर पुँजी: १,५६,४४,१३,७००/- पुगेको जनाइएको छ।

संस्थाले सामाजिक हित प्रवर्द्धन, नेतृत्व विकास, कृषि तथा पशुपालन, उद्यम, महिला सशक्तिकरण जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

Share Post on Social media