स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन नतिजामा अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट

माघ १०/स्याङ्जा: स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन नतिजामा अर्जुनचौपारी गाउँपालिका जिल्लाकै उत्कृष्ट घोषित भएको छ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको सबल र दुर्बल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीको जानकारी दिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन नेपाल सरकारबाट स्वीकृत “ स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन कार्यविधि,२०७७ ” ले लागू गरेको LISA को आर्थिक वर्ष २०७९-८० को नतिजामा अर्जुनचौपारी गाउँपालिका जिल्लाको उत्कृष्ट भएको हो।

जम्मा १० वटा सूचकलाई आधार बनाएर गरिएको उक्त मूल्यांकनमा अर्जुनचौपारी गाउँपालिकाले औसत ९४ % नतिजा हासिल गरी उत्कृष्ट घोषित भएको हो। शासकीय प्रवन्धमा (८.५/९), संगठन तथा प्रशासनमा (८/८), वार्षिक बजेट तथा योजना व्यवस्थापनमा (९.५/११) , वित्तीय एवम् आर्थिक व्यवस्थापनमा (११/११), सार्वजनिक सेवा प्रवाहमा (१६/१६), न्यायिक कार्यसम्पादनमा (७/७), भौतिक पूर्वाधारमा (१०.५/१३), सामाजिक समावेशीकरणमा (१०/१०), वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा (७.५/९), सहकार्य र समन्वयमा (६/६) नतिजा ल्याउन सफल भएको हो I छ वटा सूचकमा अर्जुनचौपारी गाउँपालिकाले सतप्रतिशत अंक ल्याउन सफल भएको छ।

अन्य पालिकाको औसत नतिजा कति?

स्याङ्जा जिल्लाको सदरमुकाममा अवस्थित पुतलीबजार नगरपालिकाले औसत ६६.७५ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । यसै गरी स्मार्टसिटीको पहिचान बनाएको वालिङ नगरपालिकाले औसतमा ८६.७५% नतिजा ल्याउन सफल भयो। संगठन तथा प्रशासन, सेवा प्रवाह र न्यायिक कार्यसम्पादन गरी तीनवटा सूचकमा शतप्रतिशत अंक ल्याएको वालिङले अन्य सातवटा सूचकमा भने औसत मात्रै अंक प्राप्त गर्यो ।

गल्याङ नगरपालिकाले वित्तीय एवम् आर्थिक व्यवस्थापन, न्यायिक कार्य सम्पादन तथा सामाजिक समावेशीकरणमा शतप्रतिशत अंक ल्याएको छ। गल्याङ नगरपालिकाको औसत अंक ८२.७५% रह्यो।

चापाकोट नगरपालिकाको भने दश वटै सूचकमा कुनैपनि अंक आएको छैन। विवरण अद्यावधिक नभएर उक्त वेभसाइटमा चापाकोट नगरपालिकाको विवरण समावेश गरिएको छैन। यसैगरी भीरकोट नगरपालिकाले न्यायिक कार्यसम्पादनमा मात्र शतप्रतिशत अंक प्राप्त गर्दै औसत ८२.७५% नतिजा प्राप्त गरेको छ। स्याङ्जा जिल्लाका पाँच वटा नगरपालिकामा वालिङ नगरपालिका उत्कृष्ट भयो भने नतिजाका आधारमा चापाकोट नगरपालिका पुछारमा रहेको छ।

यसैगरी गाउँपालिकाको सूचीमा आँधीखोला गाउँपालिकाले पाँचवटा सूचकमा शतप्रतिशत अंक प्राप्त गरी औसत ९०.२५% का साथ दोश्रो स्थानमा रहेको छ। अन्य गाउँपालिकाहरुमा फेदीखोला गाउँपालिकाले दुई सूचकमा शतप्रतिशत सहित औसत ८७.७५% का साथ तेश्रो, कालीगण्डकी गाउँपालिका ८५.२५% औसत सहित चौथो र विरुवा गाउँपालिका ७१.२५% सहित पाँचौ र कुनै पनि सूचकमा अद्यावधिक बिना हरिनाश गाउँपालिका पुछारमा रहेको छ।

Share Post on Social media