“गठबन्धनको एकमात्र समाधान चुनावमा हाम्रो विजय हो” : पद्मा अर्याल

भदौ २/स्याङ्जा: नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री एवं संघीय सांसद् माननीय पद्मा अर्यालले हालको गठबन्धन सरकारले गरेको मनपरी रोक्ने र देशको अस्तित्व बचाउने एक मात्रै अचुक उपाय भनेको आउँदो चुनावमा एमालेको विजय हो भनेकी छन्।

आज स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा नेकपा एमाले भीरकोट नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले गठबन्धन काँडो भएको र यसलाई बेलैमा नफाले विषाउने कुरा बताएकी हुन्।

नागरिकता विधेयकदेखि महँगी र हालका सम्पूर्ण क्रियाकलापलाई नेकपा एमालेले नियालिरहेको र यी सबै क्रियाकलाप विरुद्ध सशक्त प्रतिकार गरिरहेको अर्यालको भनाइ थियो। ” देशमा संबृद्धि, दिगो विकास र रोजगारी सिर्जना गर्न नेकपा एमालेको बहुमतको सरकार अनिवार्य छ।” यसको लागि महिला, युवा, विद्यार्थी, किसान लगायतका सम्पूर्ण जनवर्गीय संगठनहरुको सक्रिय भूमिका अनिवार्य रहेको र गाउँ-गाउँ, टोलटोलमा पुगेर जनमत निर्माणमा लाग्न पूर्वमन्त्री अर्यालले निर्देश गरेकी छन्।

आफू मन्त्री हुँदा भीरकोट नगरको गरिमा बन्न सक्ने योजना तयार गरी भीरकोट नगर अस्पताल बनाउन १९ करोड विनियोजन गरी पठाउँदा पनि भीरकोट नगरपालिकाले प्राविधिक कारण देखाई बजेट फ्रिज गराउनु निकै दु:खद कुरा भएको पद्मा अर्यालको गुनासो थियो। विकास भन्ने कुरा साझा हुने र विकासले समाजका सबै तह तप्काका मानिसलाई समेट्ने भन्दै उनले विकासका काममा राजनीति नगर्न समेत जोड दिइन्।

सिटी हल, विभिन्न पुलहरु, बाटो र खानेपानीको निम्ति आफूले सक्ने जति सबै जोड गेर बजेट विनियोजन गर्दा समेत काम नहुनु निकै दु:खद कुरा रहेको उनको भनाइ थियो।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल तथा गण्डकी प्रदेश सांसद् माननीय मोहन रेग्मीले समेत बोल्दै नेकपा एमालेको जनमत निर्माणमा गम्भीर भएर लाग्न तथा चुनावी प्रचारप्रसार तिव्र रुपमा सञ्चालन गर्न अनुरोध गरेका थिए।

६ दलको गठबन्धनसँग नेकपा एमाले एक्लै लडेर चुनावमा विजयी हुने लक्ष्यका साथ तयारी गर्न सम्पूर्ण स्थानीय नेता तथा कार्यकर्ता तयार भएका छन्।‌‌

तमु समाज बयरघारीमा नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले निकट विभिन्न भातृसंगठनका नेता तथा कार्यकर्ता सहित करिब २०० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Share Post on Social media