राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्याङ्जा आउँदै

भदौ २५/स्याङ्जा: राम बहादुर रोकाहा: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आउँदो बुधबार स्याङ्जा आउने भएका छन् ।


राप्रपा जिल्ला कमिटी स्याङ्जाले सदरमुकामा रहेको ठकुरी समाजको भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन स्याङ्जा आउने जानकारी दिएको हो ।
उक्त पत्रकार सम्मेलनमा आफ्नो पार्टीका भावी योजना तथा कार्यक्रमहरु साथै यहि मङ्सिरमा हुने संघ र प्रदेशको चुनावमा राप्रपा पनि सहभागी हुने हुनाले पार्टीको तर्फबाट उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बनाउन, पार्टीका भावी योजना तथा कार्यक्रमहरुको बारेमा प्रस्ट पार्न साथै जिल्ला व्यापी प्रचारप्रसार गर्नका निम्ति जिल्ला स्तरीय आमसभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आउँदो भदौ २९ गते बुधवारका दिन स्याङ्जा आउने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पन्चराम गुरुङले सोही पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उनले आउँदो चुनावमा गठबन्धनको सरकारलाई पराजित गराउन नेकपा एमालेसङ्ग हातोमाले गर्दै अगाडि बढ्ने कुराको संकेत सोही पत्रकार सम्मेलनमा जनाएका थिए । स्याङ्जामा राप्रपाले नेकपा एमालेसङ्ग आवश्यकता अनुसार तालमेल हुन सक्ने र गठबन्धनलाई हराउन सघाउने बताउँदै , तालमेल कसरी गर्ने भन्ने विषयमा छलफल रहिरहेको गुरुङले बताए ।
केन्द्रिय अध्यक्ष लिङ्देन स्याङ्जा आउने भएपछी यसको तयारी साथै व्यापक प्रचारप्रसारका लागि जिल्ला कमिटी अग्रसर रहेकोले यसलाई मिडियाले पनि प्रचारप्रसार गरि सहयोग गरिदिन कार्यक्रममा उपस्थित पार्टीका केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले अनुरोध गरे । उनले आमसभा भने जिल्ला सदरमुकामस्थित सिटिहलमा हुने जानकारी समेत गराएका थिए ।
राप्रपा पहिलेपहिले बुढापाकाहरुको पार्टी भनिए पनि अहिले युवा नेतृत्व पाएपछी मानिसहरुको पार्टीप्रती अझै चासो बढ्दै गएको कार्यक्रममा उपस्थित पुर्व मन्त्री एवं केन्द्रिय सदस्य तोरण बहादुर गुरुङ , केन्द्रीय सदस्य उदय प्रसाद पोख्रेल लगायतले बताए ।
सोही सम्मेलनमा आगामी संघ र प्रदेशको चुनावमा राप्रपा स्याङ्जाले क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिकको तर्फबाट उम्मेदवारहरुको नाम पठाइसकेको र क्षेत्र नम्बर २ को भने टुंगो लागि नसकेकोले केही दिनमा टुंगो लगाई पठाइने कुराको जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा स्वागत गर्दै आगामी निर्वाचनमा राप्रपा स्याङ्जाबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फबाट ६ जना र समानुपातिक तर्फबाट ७ जनाको उम्मेदवारी रहेको साथै प्रदेश सभा ‘क’ र प्रदेश सभा ‘ख’ दुवैको प्रत्यक्ष तर्फबाट ६ जना र समानुपातिकको तर्फबाट ७ जनाको उम्मेदवारी रहेको राप्रपा स्याङ्जाका कार्यबाहक अध्यक्ष पदम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपा स्याङ्जाका जिल्ला अध्यक्ष इन्द्रबहादुर गुरुङको सभापतित्वमा जिल्ला सचिव कृष्णमान श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले आयोजना गरेको उक्त पत्रकार सम्मेलन कार्यक्रम संचालन गरेका थिए ।

Share Post on Social media