गाविस अध्यक्षदेखि मेयर हुँदै प्रदेश सांसदसम्मको यात्रा

मंसिर १६/स्याङ्जा: स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नंं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्। अर्यालले २७३० मतान्तरले नेकपा एमालेका मोहन रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५,१६१ मत ल्याएर विजयी बने भने रेग्मीले १२,४३१ मत ल्याएर उपविजेता भए।

२०४९ मा वालिङ गाविसको गाविस अध्यक्ष रहेका अर्याल ०५४ मा वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। अर्याल वालिङ नगरपालिकाको संस्थापक मेयर समेत हुन्। झण्डै १० वर्ष स्थानीय तहको नेतृत्व गरेका अर्याल झण्डै २४ वर्षपछि पुनः जननिर्वाचित जनप्रतिनिधि रुपमा निर्वाचित भएर संसद भवन छिर्ने मौका प्राप्त गरेका छन्।

२०७४ को आम निर्वाचनमा मोहन रेग्मी प्रदेश सांसदमा विजयी भएका थिए । रेग्मी र अर्याल दुवै नेताहरु सरल,निष्ठा र इमानदार नेताको रुपमा जिल्लामा स्थापित छन् ।

Share Post on Social media