“धनराज गुरुङ मन्त्री बन्यो भनेर धेरैलाई पीर परेको छ”, मन्त्री गुरुङ

जेठ १९/ स्याङ्जा: नेपाली कांग्रेस भीरकोटको प्रथम नगर अधिवेसन सम्पन्न भएको छ। आज स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थित सिटीहलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथिको रुपमा उपस्थित भएका मन्त्री धनराज गुरुङले सामाजिक सञ्जालमा उठेका प्रश्नहरुको जवाफमा सबै मान्छे मन्त्री बन्न मिल्ने बताए। उनले आफू मन्त्री बनेकोमा धेरैलाई रिस उठेको, डाह लागेको, सामाजिक सञ्जालमा राजीनामा मागेको भन्दै आक्रोश समेत पोखे। धनराज गुरुङ मन्त्री बन्यो भनेरै विरोध गर्नु नपर्ने उनको आशय थियो।

सुशासन र भ्रष्टाचार बिरोधी अभियान लिएर आफू एक्लै लडेको र सत्यको बाटोमा एक्लै हिँडेरै यहाँसम्म आएको भन्दै सुशासन र भ्रष्टाचार बिरोधी अभियान जारी रहने बताए। उच्चस्तरीय राजनीतिक व्यक्तित्वको समेत सम्पत्ति छानविन गर्ने आफ्नो एजेण्डा संघीय बजेटमा समेत उल्लेख गराएको भन्दै उनले नागरिकता र शरणार्थी काण्डका विषयमा धेरै बहस नगर्न सुझाए।

नागरिकको नागरिकता पाउने नैसर्गिक अधिकार भन्दै उनले नागरिकता विधेयकले मुलुकलाई फिजीकरण नगर्ने तर नागरिकता पाउनबाट वञ्चित भएका नागरिकहरुलाई न्याय मिलेको समेत उनले बताए। शरणार्थी काण्ड अन्तिम चरणमा पुगेको र भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने उनको आशय थियो।

धनराज गुरुङले बाहिर उठेका कुराहरु जस्तो खराब काम आफूले नगरेको र खराबी नगर्ने कुरामा समेत प्रतिबद्ध रहेको समेत उल्लेख गरे। ” सुशासनको नारा बोकेर हिँडेँ। आज म सुशासन कायम गराउने ठाउँमा पुगेको छु। कसैले शंका नगर्नुस्।” उनले थपे।

स्याङ्जा जिल्लाको विकासमा हरेक तहसँग समन्वय गरी अघि बढ्ने उनको उद्घोष थियो। उक्त कार्यक्रममा संघीय सांसद् राजु थापा, प्रदेश सभा सदस्य भोजराज अर्याल, भीरकोट नगरपालिकाका मेयर गोविन्द कर्माचार्य, उपमेयर भगवती अर्याल, राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनाल लगायत सयौँ काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।

नेपाली कांग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन काँग्रेस भीरकोट सचिव तथा भीरकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले गरेका थिए।

Share Post on Social media