नेपाल तरुण दल भीरकोटद्वारा आयोजित रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

साउन ६/केके संवाददाता: नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बि.पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा आयोजित रक्तदान तथा पदाधिकारी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट नगर अस्पताल नयाँबजार हेलुमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले वि.पी. कोइरालाको सिद्धान्तबाट आफू मात्र नभई सिंगो देश नै कोइरालाको समाजवादमा चलिरहेको बताए। उक्त कार्यक्रममा बोल्दै नेपाल तरुण दल स्याङ्जा जिल्ला सभापति एवं पूर्व गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई सम्मान प्रकट गर्दै तरुणदलमा मनोनीत सदस्यहरु हरेक क्षेत्रमा अब्बल व्यक्तित्व भएको भन्दै नेपाली कांग्रेसले इन्जिनियर, वकिल, विद्वान, उद्योगपति, व्यापारी हरेक प्रकारका व्यक्तिलाई केन्द्रीय सदस्य पाएको हुनाले नेपाल तरुण दल र नेपाली कांग्रेस स्याङ्जाको संगठन विस्तार गर्न र जिल्लामा विकासका काम गर्न अझै सजिलो भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमलाई नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, भीरकोट नगरपालिका पूर्व उपप्रमुख सिमा केसी कर्माचार्य, नेपाल तरुण दल केन्द्रीय सदस्य ई. दीपेन्द्र क्षेत्री, जगदीश खाँण ठकुरी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा तरुण दल केन्द्रीय सदस्यमा मनोनीत सदस्यहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा ई. दिपेन्द्र केसी, कमल घिमिरे, ईश्वरबन्धु अर्याल, विश्वास लम्साल, दिपक वाग्ले, सम्पूर्णमान श्रेष्ठ, उमेश भट्टराई, विश्वास पुरी, केशव बस्याल, पशुपति पोख्रेल र जगदीश खाँण ठकुरी रहेका थिए । यसैबीच सोही कार्यक्रममा गण्डकी टीम काँटा बाट महिला कराँतेमा स्याङ्जा जिल्लाको नाम राख्दै द्वितीय भएकी वालिङ – ६ मिर्दीकी मेनुका गाहा मगरलाई पनि सम्मान गरिएको थियोे ।

साठी जना रक्तदाताहरुले रक्तदान गरेको सो कार्यक्रममा प्रमाणपत्र दिएर रक्तदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । नेपाल तरुण दल भीरकोटका सभापति राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपाल तरुण दलकै करुणा पौडेलले स्वागत मन्तव्य दिएकी थिईन् भने कार्यक्रमको संचालन नेपाल तरुण दल भीरकोटका सचिव प्रवीण विक्रम खाँणले गरेका थिए ।

Share Post on Social media