भीरकोटका १८ वर्षीय मोहम्मद साजिदले गरे मुस्लिमहरुको पवित्र ग्रन्थ कुरान कण्ठ

साउन २१/स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका एक युवकले इस्लाम धर्म अनुयायीहरुको पवित्र ग्रन्थ कुरान कण्ठस्थ पारेका छन्।

गण्डकी प्रदेश, स्याङजा जिल्ला भीरकोट नगरपालिका वडा नं २ उपल्लो गाउँ साउथर निवासी बसिर दिन मियाँ र जौरन निशाको कान्छो छोरा (हाफिज) मोहम्मद साजिद मियाँले १८ वर्षको उमेरमै इस्लाम धर्मवालम्बीहरूको पवित्र किताब कुरानको पुरै ३० अध्याय (पारा) कण्ठस्थ पारेका हुन्।

उक्त कार्यको सम्मान स्वरुप उनलाई खादा मालाका साथ बयरघारी बजार परिक्रमा गराई सम्मान कार्यक्रम आयोजना गरिएको थियो। सम्मान कार्यक्रममा मदरसाका मास्टर हाफिज वकारी अब्दुर रहिम र साजिद मियालाई सम्मान गरिएको थियो। जश्ने ईद मिलादुन्ननवि रस्मे खतमे कुराअने पाक कार्यक्रमको अध्यक्षता ईदारा व्यवस्थापनका अध्यक्ष महमद मियाले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा स्याङजा जिल्लाका मुस्लिम वस्तिका इमामहरू , इस्लाम धर्मका धर्म गुरुहरू हाफिज, आलीम, मौलानाहरू, डिएसपी मोहम्मद इक़बाल ज्यु र अतिथिहरूमा समाजका अध्यक्षहरू र हाजी हजीनहरू , मुस्लिम दाजुभाइ, दिदीबहिनीहरूको उल्लेखनीय उपस्थित रहेको थियो।

बयरघारी मस्जिदका इमाम मोहम्मद युसुफ मियाँले कुरान पढे पश्चात कार्यक्रम सुरू भएको थियो भने हाजी जब्बर अलि मियाँ र हाफिज शकिल खानले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरूले इस्लाम धर्म सम्बन्ध बारे ज्ञानका कुराहरू बताएका थिए।

इदारा व्यवस्थापन समितिका अध्यक्षले स्याङजा जिल्लामा बसोबास गर्ने जेहनदार विद्यार्थीहरूलाई उक्त इदारामा भर्ना हुन हार्दिक अनुरोध गरेका थिए।

Share Post on Social media