“पाँच वर्षमा गाउँ-गाउँमा कार आउँछ” भीरकोट नगर प्रमुख कर्माचार्य


नारायणप्रसाद कोइराला, स्याङ्गजा: ९ भाद्र २०८०, शनिबार
स्याङ्गजाको बालमैत्री नगरपालिका भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले ५ वर्ष भित्रमा भीरकोटका गाउँगाउँमा कार आउने गरी सडक स्तरोन्नति गरिने बताएका छन् ।

नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरूले पालिकाको ग्रामिण सडकको अवस्था एकदमै नाजुक रहेको जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो पछि नगर प्रमुख कर्माचार्यले ग्रामीण सडकको स्तरोन्नतिलाई पालिकाले प्राथमिकता राखेको तर नतिजा आउन केही समय लाग्ने बताए l वडा नम्बर ३ मा अवस्थित शहिद शुक्र मा. वि. मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको गुनासो सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले भने, “२०८४ को चुनावमा गाउँगाउँमा उम्मेदवारहरू कार लिएर चुनावको प्रचारप्रसारमा आउने छन् । ”

पालिकाले आ.व. २०७९/८० को दोस्रो र तेस्रो चौमासिकमा गरेका विकास निर्माणका कार्यहरू र सार्वजनिक सेवा प्रवाहका विषयमा पहिलो पटक पालिकाको केन्द्र बयरघारी बजार भन्दा बाहिर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । पालिकाको आयोजना र छायाँक्षेत्र मिडिया प्रा.लि., वालिङको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमममा उपस्थित नागरिकहरूले ग्रामीण सडक, खानेपानी , विद्युत, पुल , शैक्षिक गुणस्तर, दिगो विकास, बाँदर आतंक, बढ्दो बसाईंसराई, रोजगारी, कृषिको व्यवसायीकरण लगायतका विषमा नगरले स्पस्ट नीति र योजना बनाउनुपर्ने माग गरेका थिए ।
छायाँक्षेत्र मिडिया प्रा.लि. का सम्पादक अमृत अर्यालले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रूपमा नगर प्रमुख कर्माचार्यले जनताको चासो, गुनासो र समस्याको जवाफ दिएका थिए । नगर प्रमुख क्रमाचार्यले सबै जनचासो र गुनासोको यथोचित सम्बोधन गर्ने बताउँदै नयाँ आर्थिक वर्ष २०८०/८१ देखि पालिकाले हरेक निर्माण कार्यको गुणस्तर जाँच गर्ने प्राविधिक तयारी गरिरहेकाले उपभोक्ता समितिलाई गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग गरी बजेटको सही सदुपयोग गर्न सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले गत आवमा पालिकाले कार्यान्वायन गरेका योजना र उपलब्धीहरूको बारेमा चर्चा गरेका थिए । उपस्थित वडा अध्यक्षहरू केशर बहादुर खड्का, कृष्ण बहादुर खत्री, लक्ष्मण खत्री क्षेत्री, तारा प्रसाद अर्याल, नन्दलाल खनालले आ.व . २०७९/८० मा आ आफ्नो वडाले सम्पन्न गरेका मुख्य योजना र उपलब्धीबारे जानकारी गराएका थिए ।
नेपाली काँग्रेस भीरकोटका नगर सभापति याम प्रसाद अधिकारीले नगरका गौरबका योजना, व्यवसायिक कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए । शहिद शुक्र मा. वि. का अध्यक्ष केशर बहादुर अधिकारीले पालिकाले गुणस्तरीय र गरिखाने शिक्षालाई जोड दिनुपर्ने बताए । कृषि अनुदान कृषकको लगानी र उत्पादनका आधारमा दिनुपर्ने र स्वास्थ्य संस्थामा सरकारले तोकेका सवै प्रकारका औषधी उपलब्ध हुनुपर्ने उनको माग थियो ।

Share Post on Social media