पोखराका चार विद्यालयले गरे काठमाडौँ विश्वविद्यालयसँग सहकार्य

भदौ १६/पोखरा: “शिक्षण गर्ने परम्परामा परिवर्तन आवश्यक छ” भन्ने मान्यतामा आधारित रहेर पोखराका चार विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेका छन्।

शैक्षिक गुणस्तरमा नवीन विधि, अनुसन्धानमूलक, धारणात्मक सिकाइ अनि परियोजनाका माध्यमले सुधारको अपेक्षा गरी काठमाडौँ विश्वविद्यालयसँग गरेको सम्झौताअनुसार पोखरामा स्कुल लिडरलाई दिइने ४८ घण्टाको तालिम तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा पोखराका बाल प्रभात बोर्डिङ स्कूल, लक्ष्मी आवासीय मावि, बालोदय मावि, र जुनियर सिटिजन्स एकेडेमीका स्कुल लिडरहरूको सहभागिता रहेको थियो ।

उक्त तालिमको काठमाडौँ विश्वविद्यालयका प्रोफेसर तथा डिन बालचन्द्र लुइँटेल र सन्दीप ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो। सिकाइलाई प्रभावकारी तथा समय सापेक्ष बनाउनका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको बाल प्रभात माविका प्रिन्सिपल डिल्लीराम अर्यालले बताए।

उक्त कार्यक्रममा लक्ष्मी आवासीय माविका विश्व उदिर, बालोदय माविका टेकनाथ पौडेल र जुनियर सिटिजन्सका सुन्दर ढकालले पनि कार्यक्रमको उपयोगितामाथि प्रकाश पारेका थिए। स्कूल लिडरहरूलाई एकीकृत पाठ्यपुस्तक ढाँचा र त्यसको अध्यापनमा अपनाइने नवीन विधि तथा परियोजनामा केन्द्रित व्यवहारिक अभ्यासको खाकासमेत प्रस्तुत गरिएको थियो।

यस सहकार्यले दक्ष र सक्षम शिक्षक अनि सीपयुक्त विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भूमिका रहने सहकार्यमा जोडिएका चार विद्यालयको अपेक्षा रहेको छ। यसै कार्यक्रममा दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरी हस्तान्तरण गर्ने काम पनि सम्पन्न भएको जानकारी बालप्रभात बोर्डिङ्ग स्कूलका प्राचार्य डिल्लीराम अर्यालले दिए।

Share Post on Social media