स्याङ्जामा घण्टीको आवाज चर्किएको सभापती रबि लामिछानेको दाबी


खबरकलम संवाददाता/स्याङ्जा:


राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै स्याङ्जामा रास्वपाको घण्टीको आवाज चर्किएको पार्टी सभापति रबि लामिछानेले दाबी गरेका छन् ।

पार्टी सभापति लामिछानेले भीरकोट नगरपालिका बयरघारीमा आयोजित खुला सभालाई सम्बोधन गर्दै रास्वपालाई बाहिर धकालेर प्रमुख दलहरु मिलेर सरकार बनाउन सुझाव दिएका थिए।
उनले आफू भ्रष्टाचार अन्त्य गर्न आएपनि आफूलाई सरकार बाहिर धकेलिएको बताए। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सरकारमा रहेका पुराना तथा प्रमुख दलहरुलाई देश बनाउन अझै चार वर्षको समय प्रयाप्त रहेको दाबी गरे ।

उक्त सभामा मिसन ८४ राजनैतिक दलहरुको नभई नेपाली आम जनताको अभियान हुनुपर्ने कुरामा सभापती लामिछानेले जोड दिए । उनले विगत लामो समयदेखि सरकारमा बसेका प्रमुख दल र नेताहरुले अब जनतालाई मिसन ८४ भन्नु जनतालाई धोका दिनु मात्र रहेको बताए।

नेपाली जनताको साथ र सहयोग पाएकाले नै आफुले राजनैतिक यात्राको सुरु गरेको पार्टी सभापति रबि लामिछानेको भनाइ थियो। उनले जनताको साथले नै भ्रष्टाचारको अन्त्य गर्ने हरेक कदममा हौसला मिलेको बताएका थिए। २०८४ को आम चुनावमा बहुमत ल्याएर सरकार बनाएर हरेक भ्रष्टाचारका फाइलहरु खोलेर यसको जालो अन्त्य गर्ने रास्वपाका केन्द्रीय सभापती रबी लामिछानेले दाबी गरे।

उनले आफ्नो पार्टीको मुख्य लक्ष्य नै भ्रष्टाचार अन्त्य गर्ने र भ्रष्टाचारका कारण देशको आर्थिक अवस्था कमजोर भएकाले युवा विदेशिने बाध्यतालाई अन्त्य गर्दै स्वदेशमै रोजगारी दिने मुख्य मुद्दा रहेको बताए।

त्यस्तै,मिशन ८४ को दौडाहामा रहेका लामिछानेले स्याङ्जाका विभिन्न पालिकामा खुला सभालाई सम्बोधन गरेका हुन् । उनले भीरकोट, वालिङ, गल्याङ नगरपालिकामा खुला सभालाई सम्बोधन गरेका थिए ।

रामबहादुर रोका खबरकलम डटकमका सहकर्मी हुन्।‌

Share Post on Social media