अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा, हट्यो पोखरा जानुपर्ने बाध्यता

पौष १६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा उपकरण सहयोगमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।

अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनमै आँखा उपचार केन्द्र सञ्चालनमा आएपश्चात यस क्षेत्रबाट आँखा जाँच गर्न, आँखासम्बन्धी रोगको पहिचान तथा उपचार गर्न पोखरा नै पुग्नुपर्ने बाध्यता हटेको हो। हिमालय आँखा अस्पताल पोखराकी निर्देशक डा. एलिया श्रेष्ठले आज पालिका भवनभित्रै सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रको उद्घाटन गर्दै हिमालय आँखा अस्पतालको स्थापना भएयताको ३० वर्षमा ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिइन्।

३१ औं आँखा उपचार केन्द्र अर्जुनचौपारी गाउँपालिकाको नयाँ प्रशासकीय भवनमा सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको बताउँदै विभिन्न कारणले आँखाको उपचार गर्न नपाएका, गरिब तथा असहाय बिरामीलाई हिमालय आँखा अस्पताल पोखरामा निशुल्क शल्यक्रिया तथा उपचार गराइने उनले बताइन्। नेपाल सरकारले लागू गरेको बिमा कार्यक्रम मार्फत जोडिएका सर्वसाधारणको बिमा मार्फत पनि उपचार हुने बताउँदै उनले कम्तीमा पनि वर्षको एकपटक अनिवार्य आँखा उपचार गर्न सुझाव दिइन्।

डा. एलिया श्रेष्ठले आँखा उपचार केन्द्रको उद्घाटन गरेपश्चात ७६ वर्षीय चन्द्रकला देवकोटाको आँखा जाँच गरेकी थिइन्। अत्याधुनिक कम्प्युटर प्रविधिको मेसिनले आँखा जाँच पश्चात डा. श्रेष्ठले वृद्धा बिरामी चन्द्रकला देवकोटाको आँखामा मोतिबिन्दु समस्या देखिएको र पोखरामा निशुल्क शल्यक्रिया गरिने बताउँदै पोखरा आउन अनुरोध समेत गरेकी थिइन्।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले आफू निर्वाचित भएयता सम्पूर्ण ध्यान अर्जुनचौपारी गाउँपालिकाको शिक्षा र स्वास्थ्यमा लगाएको बताउँदै आजबाट सञ्चालनमा आएको आँखा उपचार केन्द्रको संचालनार्थ एक जना कर्मचारी पालिकाले नै व्यवस्था गर्न लागेको जानकारी दिए। उनले आफ्नो कोसिसलाई नेत्रज्योति संघ र हिमालय आँखा अस्पतालले सार्थक बनाएको बताउँदै धन्यवाद ज्ञापन समेत गरेका थिए।

आजबाट सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रले आँखाको सामान्य परीक्षण, स्क्रिनिङ, माइनर शल्यक्रिया, लेन्स वितरण लगायतका सेवाहरु उपलव्ध गराउने छ। हरेक वडाका विद्यालयमा अध्ययनरत विद्यार्थी, वृद्धवृद्धा, अशक्त, असहाय तथा जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखी सेवा प्रदान गरिने जानकारी उक्त कार्यक्रममा दिइएको थियो। पालिकाको तर्फबाट अध्यक्ष प्रकाश तिवारी र हिमालय आँखा अस्पतालको तर्फबाट निर्देशक डा. एलिया श्रेष्ठले आज सम्झौतापत्र आदानप्रदान समेत गरे।

उक्त आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, शिक्षक, पत्रकार, आमा समूह लगायत गरी करिब १५० जनाको सहभागिता रहेको थियो।‌ आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रमको सञ्चालन अर्जुनचौपारी गाउँपालिका प्रशासन शाखा प्रमुख सुष्मिता भुषालले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा हिमालय आँखा अस्पताल पोखराकी निर्देशक डा. एलिया श्रेष्ठ उपस्थित थिइन्। स्वागत मन्तब्य वडा नं १ का वडाध्यक्ष रणबहादुर थापाले दिएका थिए।

Share Post on Social media