एकल बहुमत नआउने भएकाले गठबन्धन गर्न बाध्यता रह्यो´, काङ्ग्रेस सभापति देउवा

राम बहादुर रोकाहा/स्याङ्जा: नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताउनुभएको छ।

स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताउनुभएको हो । उहाँले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्याउन कुनै न कुनै पार्टीसँग गठबन्धन गर्न बाध्यता भएको बताउनुभयो । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसँग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उहाँको भनाई थियो।

सभापति देउवाले आफुले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरेको बताउनुभयो । उहाँले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेताकार्यकर्ताहरुलाई सोही कार्यक्रममा निर्देशन दिनुभएको थियो ।
जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उहाँको दावी थियो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको बताउँदै वैदेशिक रोजगारमा जाँदा ख्याल गर्नुपर्ने, महिला अधिकारहरुलाई बढाउँदै जानेमा जोड दिनुभयो ।

सम्मेलनमा सभापति देउवाले सत्ता सबैलाई आवश्यक रहेको र सत्ताको लागि मारामार गरी प्रतिस्पर्धा हुने गरेकाले नेताकार्यकर्तालाई जनतामा गएर संगठन बनाएर एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

Share Post on Social media