एमाले अध्यक्ष ओली जिल्ला अधिवेशन उद्घाटनका लागि स्याङ्जामा
राम बहादुर रोकाहा/चैत्र २३: एमाले स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आएका छन् ।
जिल्लाको सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष ओलीले सहमतिबाट नै नेतृत्व चयन गरेर एकजुट भएर अगाडि बढ्न निर्देशन गरे ।
उनले स्याङ्जा जिल्ला संघर्ष बोकेको, चेतना, राजनीति तथा हरेक क्षेत्रमा अगाडि रहेको बताउँदै अधिवेशनमा गुटबन्दी गरेर पार्टीलाई कमजोर नबनाई सहमतिबाट नेतृत्वको टुंगो लगाएर संगठनलाई बलियो बनाउँदै अगाडि बढ्न निर्देशन दिए ।
दुई दिनसम्म चल्ने अधिवेशनमा स्याङ्जा जिल्लाका ९ हजार ५४३ जना सदस्य रहेको ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, पार्टीका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि ६०९ जना प्रतिनिधिहरु रहेको एमाले स्याङ्जाले जनाएको छ ।
अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ पदाधिकारी र १०० सदस्यसहित १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनबाट निर्वाचित उक्त कमिटीले ३ वर्षे कार्यकाल चलाउने छ । नेकपा एमाले स्याङ्जाले अधिवेशनमा युवा, महिला तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई महत्त्वका साथ लिइएको जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्