खुमा अर्याल फाउण्डेशनद्वारा आयोजित स्वास्थ्य शिविर सम्पन्न, खेलाडी सम्मानित
मंसिर ५/स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ७ बलमाटास्थित कालिका बहुमुखी क्याम्पसको प्राङ्गणमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। खुमा अर्याल फाउण्डेशनद्वारा आयोजित उक्त स्वास्थ्य सेवा शिविर आज सम्पन्न भएको हो।
गण्डकी मेडिकल कलेज पोखराको सहजीकरण तथा खुमा अर्याल फाउण्डेशनको आयोजनामा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा स्याङ्जा जिल्लाका भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका आसपासबाट विभिन्न स्वास्थ्य समस्या भएका सेवाग्राहीहरु स्वास्थ्य सेवा लिन पुगेका थिए।
६६६ जनाले नाम दर्ता गरेर स्वास्थ्य सेवा लिएको तर यो संख्या करिब ७०० जना रहेको खुमा अर्याल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए। उनका अनुसार चिसो मौसमका कारण कार्यक्रम ढिला सुरु भएकाले रक्तदान गर्न इच्छुक व्यक्तिहरूले समेत रक्तदान गर्न पाएनन्। खुला रक्तदान कार्यक्रममा ४५ जना युवाहरुले रक्तदान गरेको र ४५ पिन्ट रगत सङ्कलन गरिएको समेत उनले जानकारी दिए।
उक्त कार्यक्रममा नेपाललाई यु-१९ क्रिकेट विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका स्याङ्जाका तीन जना खेलाडीलाई जनही रु १ लाख सहित स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्षलाई सम्मानित गरिएको थियो।
खुमा अर्याल फाउण्डेशनले समाजमा कल्याणकारी कार्य अन्तर्गत विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्