शिक्षक अभिभावक संघद्वारा पञ्चकन्या माविले बाल अधिकार हनन गरेको भन्दै उजुरी दायर

खबरकलम संवाददाता/मंसिर ८: अर्जुनचौपारी गाउँपालिका -१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले बाल अधिकार हनन गरेको भन्दै शिक्षक अभिभावक संघले शिक्षा विकास तथा समन्वय इकाई, स्याङजामा उजुरी दिएको छ ।

शिक्षा ऐनमा तोकिए भन्दा बढी विद्यार्थी पठनपाठन गराउने बाध्यता गराइएको भन्दै संघका अध्यक्ष प्रेम प्रसाद ढकालले उजुरी दिएका हुन् । शैक्षिक सत्र २०८०/८१ को सुरुवातमै विद्यालयको कक्षा -६ मा ५३ र कक्षा -७ मा ५४ जना विद्यार्थी रहेको उनले उजुरीमा जनाएका छन् ।

अध्यक्ष ढकालले प्रयाप्त जनशक्ति भएको विद्यालयमा विद्यार्थी तथा अभिभावकले बारम्बार गुनासो राख्दा र विद्यालय व्यवस्थापन समितिले सेक्सन खोल्न निर्णय गरी पठनपाठन कार्यतालिका समेत बनाएको अवस्थामा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद तिवारीले आफू सञ्चालक रहेको निजी विद्यालय चलाउने उद्देश्य हो या आफ्नो निजी विद्यालयबाट यस विद्यालयमा आएका विद्यार्थीलाई दुःख दिने, शैक्षिक वातावरण खलबलाउने नियत गरेको देखिएको उजुरीमा उल्लेख गरेका छन् ।

शैक्षिक सत्र शुरु भएको सात महिनासम्म पनि सेक्सन नछुट्टाई बाल अधिकार हनन जस्तो गम्भीर अपराधिक क्रियाकलाप गरेको हुँदा प्रअ तिवारीमाथी छानविन गरी हदैसम्मको कारबाही र तुरुन्त सेक्सन छुटाउने वातावरण मिलाउन र उनका स्वार्थ बाजिने गतिविधिहरुलाई यथाशिघ्र रोक लगाउनका लागि शिक्षक अभिभावक संघ पञ्चकन्या माविका अध्यक्ष ढकालले शिक्षा विकास तथा समन्वय इकाई, स्याङजामा अनुरोध गरेका छन् ।

पञ्चकन्या माविका प्रधानाध्यापक विष्णु प्रसाद तिवारीको निजी विद्यालय सितला अङ्ग्रेजी आवासिय विद्यालयबाट पञ्चकन्या विद्यालयमा कक्षा -६ मा १० जना र कक्षा -७ मा १२ जना विद्यार्थी यसै शैक्षिक सत्रमा भर्ना भएका छन् ।

Share Post on Social media