भीरकोटमा बहुउद्देश्यीय भवन निर्माणको काम सुरु
नारायणप्रसाद कोइराला/स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिकामा क्षत्री समाज बहुउद्देश्यीय भवनको निर्माण कार्य धमाधम अगाडि बढिरहेको छ। क्षत्री समाज नेपाल , भीरकोटले वडा नं १ बयरघारीमा, पुलको मुखमा निर्माण गरिरहेको यो भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ।
४ करोड लागत अनुमान गरिएको सो भवन ७ हजार १ सय ६५ बर्गफिट क्षेत्रफलमा निर्माण भैरहेको छ। ३ तलाको संरचनामा समेटिने भवनमा २ वटा सभाहलमा हुनेछन्। एउटा सभाहलमा कम्तिमा पनि ६ सय जना अट्ने समाजका अध्यक्ष क्याप्टेन मीन बहादुर के.सी. ले स्मार्ट अखबारलाई जानकारी दिनुभयो। कृष्ण निर्माण सेवाले निर्माण गरिरहेको यो भवन आर्थिक वर्ष ८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
क्षत्री समाजको अगुवाइमा निर्माण गरिने भएपनि भवन समुदायका सबै समुदायले प्रयोग गर्न पाउने अध्यक्ष के.सी. ले बताउनुभयो। पर्यटन र सामाजिक एकता प्रवर्द्धनका लागि भवन निर्माण गरिएको अध्यक्ष के.सी. ले बताउनुभयो। भवनमा शारीरिक स्फुर्तिका लागि योगा, जिम, बास्केटबल कोर्टको सुविधा हुनेछ। यसैगरी धार्मिक, सांस्कृतिक , सामाजिक, राजनीतिक कार्यक्रम संचालनका लागि सभाहल, मन्दिर, हवनकुण्डको सुविधा समेत हुनेछ।
उहाँका अनुसार बहुउद्देश्यीय भवनमा एउटा संग्राहलय समेत स्थापना गरिनेछ। संग्रहालयमा भीरकोट नगरपालिकामा बसोबास गर्ने सबै जातजातिको पहिचान र मौलिकता झल्कने गरी धार्मिक र सांस्कृतिक वस्तुहरू राखिने छन्। यसैगरी भवनमा भीरकोटमा रहेका होमस्टेहरूमा आउने पाहुना र भीआइपीहरूलाई आवासीय सुविधा समेत प्रदान गरिने लक्ष्य राखिएको छ। भवनलाई पर्यटक सूचना केन्द्र एवं गेस्ट रिसिभङ स्टेसनको रूपमा प्रयोग गरिनेछ। यहाँबाट खिलुङ, स्वरेक, ओकादी, केघा जस्ता पर्यटकीय स्थानमा जान सहज हुन्छ।
सामाजिक एकता पर्यटन प्रबर्द्धनका लागि निर्माण भैरहेको भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख र राष्ट्रिय पर्यटन बोर्डले २० लाख आर्थिक सहयोग गरेको कस्तरी समाज , भीरकोटका सचिव लेखबहादुर के.सी. किरणले जानकारी दिनुभयो। उहाँका अनुसार मुख्यतया: क्षत्री समाजका सदस्य र शुभेच्छुकबाट उठेको रकमले भवन निर्माण भैरहेको छ। हालसम्म सरकारी निकाय, शुभेच्छुक र दाताहरू करिब १ करोड रकम उठिसकेको छ। भवन निर्माणका लागि अझै ३ करोड अपुग रहेकोले समाजले शुभेच्छुक संघसंस्था र व्यक्तिहरूलाई सहयोगका लागि आग्रह गरेको छ।
भीरकोटको विकासमा कोसेढुङ्गा सावित हुने यो भवन समयमै सम्पन्न गर्न भीरकोटका राजनीतिक दलहरूले समेत सकारात्मक भूमिका खेल्नुपर्ने देखिन्छ। स्थानीय, प्रदेश र संघीय सरकारले समेत उचित चासो र आर्थिक सहयोग गरेमा तोकिएको अवधिमै भवन निर्माण सम्पन्न हुने समाजका अध्यक्ष के.सी. को विश्वास छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्