बैंकर अर्यालको पहिलो सांगीतिक कोसेलीको छायांकन,कार्तिक २५ गते सार्वजनिक हुने

खबरकलम संवाददाता /स्याङ्जा:बैंकरको रुपमा पहिचान बनाएका गरिमा विकास बैंक लिमिटेड वालिङ शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले आफ्नो पहिलो सांगीतिक कोसेली स्वरुप ख्याली गीत बजारमा ल्याउने भएका छन्।

उनको रोइला भाकामा ख्याली गीत बजारमा आउन लागेको हो। स्याङ्जाको ऐतिहासिक स्थल वालिङ नगरपालिका वडा नं ११ पेखुमा सोमबार गीतको छायांकन गरिएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ११, बगालथोक स्थायी घर भएका अर्यालले लामो समयको अथक मेहनत र प्रयासले पहिलो गीति प्रस्तुति ख्याली मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्न लागेको बताए।

नेपालीहरुको पुरानो संस्कार, संस्कृति, विशेषगरी स्वस्थानी पूजाको महत्वलाई रक्षा गर्ने र गाउँघरको पुरानो मौलिक जीवनशैलीको झल्को दिने उदेश्यले यो गीत तयार पारिएको उनको भनाइ छ। सानैदेखि नै संगीतका क्षेत्रमा रुचि राख्दै आएका अर्यालले लामो समयदेखि स्याङ्जाको परिवेशलाई नियाल्दै शब्द सिर्जना गरेका छन्।

आफ्नै शब्द सिर्जना रहेको रोइला भाकामा उनी स्वयम् र गायिका रिना केसीले आवाज भरेका छन्। उक्त गीत गायक घनश्याम रिजालको युट्युब च्यानलबाट कार्तिक २५ गतेदेखि बजारमा आउने छ ।

Share Post on Social media