स्याङ्जाकी चेली क्यान्सरसँग जुध्दै, सहयोगको अपिल

असोज २६/ प्रमोद खनाल: स्याङ्जाकी एक चेलीलाई कलिलो उमेरमै क्यान्सरले च्यापेको छ।

स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं ५ चापपानी स्थायी ठेगाना भई हाल काठमाडौंको सिभिल सर्भिस अस्पताल काठमाडौंमा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी छिन्।

शेरबहादुर अर्याल क्षेत्री र शारदा अर्याल क्षेत्रीकी सुपुत्री अनिशा अर्याल २० वर्षकै कलिलो उमेरमा t-cell lymphoblastic lymphoma नामक क्यान्सर रोगका कारण कठीन अवस्थामा उपचाररत छिन्।

घरायसी आर्थिक आवस्था कमजोर हुँदा उपचारका लागि कठिनाइ नहोस् र, उनका सुन्दर सपनाहरु ओइलिएर नजाउन् भन्ने सोचका साथ भीरकोट युवा आवाजले आफ्नो अगुवाईमा सुरु गरेको ” अनिशा अर्याल सहयोग अभियान”मा सहयोग गर्न अपिल अपिल गरेको छ।

नेपालीहरु जहिल्यै दु:खमा एक हुन्छन् र सहयोग गर्छन्।‌ यस्ता धेरै खाले अभियानहरु यसअघि देशका विभिन्न भागमा संचालन भएर सफलता हासिल समेत गरिसकेका छन्। र, समस्यामा पर्नेहरुले अमूल्य जीवन पनि प्राप्त गरेका छन्।

भीरकोट युवा आवाजले यस अभियानको लागि स्थानीय निकायको अनुमति समेत लिएर अघि बढेको छ।

अनिशा अर्याललाई देश-विदेशका विभिन्न ठाउँबाट सहयोग गर्न सकिन्छ। इसेवा लगायतका डिजिटल एप्सबाट समेत उनलाई नगद सहयोग गर्न सकिने कुरा अभियन्ता सुनिल अर्यालले बताए।

उनले विभिन्न संघ संस्था, सरोकारवाला निकाय, बुद्धिजीवी, दाताहरु र सबैमा सहयोगको लागि अपिल गरेका छन्। हाम्रो सानो सहयोगले अब्बल फिजियोथेरापिष्ट बन्ने अनिशा अर्यालको सपना साकार होस्।

Share Post on Social media