स्याङ्जाका ३३३ जनप्रतिनिधि कारबाहीमा ६ करोड ६० लाख जरिवाना तिर्नुपर्ने

असोज ७/स्याङ्जा: स्थानीय निर्वाचन २०७९ को चुनावी खर्च समयमै नबुझाउने स्याङ्जा जिल्लाका विभिन्न स्थानीय निकायका ३३३ जना उम्मेदवारहरु कारबाहीमा परेका छन्।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै उनीहरुको नामसहित जरिवाना रकम सार्वजनिक गरेको हो। यसरी जरिवाना तिर्नेहरुमा अधिकांश उम्मेदवारहरु निर्वाचनमा पराजित भएको भएतापनि निर्वाचित भएकै प्रतिनिधिले समेत निर्वाचन खर्च सार्वजनिक गरेका छैनन्।

निर्वाचित भएर कार्यभार सम्हालिसकेकाहरुमा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, नगर उपप्रमुख भगवती अर्याल, चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण ईश्वर तथा उपप्रमुख इशा राना, हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष इन्द्रकुमारी राना थापा, विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा रहेका छन् भने वडाध्यक्ष र वडासदस्यको सूची पनि लामै रहेको छ।

समयमै निर्वाचन खर्च विवरण नबुझाउनेमा अर्जुनचौपारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ समेत रहेकी छन्। जो अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष पदमा हालैको निर्वाचनमा पराजित भएकी थिइन्। यसैगरी चापाकोट नगरपालिकाका नगरप्रमुख पदमा पराजित उम्मेदवार राजु कोइराला, उपप्रमुख पदमा पराजित सृष्टि मल्ल, अर्जुनचौपारी गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित उम्मेदवार टंकप्रसाद खनाल लगायतका रहेका छन्।

वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारबाट जनही १ लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारबाट जनही ३ लाख ५० हजार तथा नगरपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारबाट जनही ४ लाख ५० हजार रुपैयाँ जरिवाना गरी स्याङ्जाका ३३३ जना उम्मेदवारले ६ करोड ६० लाख जरिवाना बुझाउनुपर्ने भएको छ।

Share Post on Social media