स्याङ्जामा क्षयरोगका बिरामी १६० जना, ५ जनाको मृत्यु

खबरकलम संवाददाता /चैत १०: प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्यांक अनुसार यस आर्थिक वर्षसम्म क्षयरोगका बिरामीको संख्या १६० रहेको र यस आर्थिक वर्षमा जम्मा ५ जनाको निधन भएको छ। 

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका, बिरुवा गाउँपालिका, चापाकोट नगरपालिका वालिङ नगरपालिका र गल्याङ नगरपालिकामा क्षयरोगको कारण एक-एक जनाको निधन भएको छ। 

आज प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको सभाहलमा क्षयरोग निवारण दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मी, कर्मचारीहरु, मिडियाकर्मी लगायतका सरोकारवालाहरुको उपस्थितिमा उक्त जानकारी दिइएको हो।

दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने उदेश्यका साथ हरेक पालिकामा स्वास्थ्य परीक्षण, स्वास्थ्य केन्द्रमार्फत क्षयरोगको निशुल्क औषधी वितरण, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार सहितका कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ। 

स्याङ्जा जिल्लाको पालिका स्तरीय तथ्यांक अनुसार सबैभन्दा बढी वालिङ नगरपालिकामा ५० जना र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा २ जना क्षयरोगका बिरामी रहेका छन्। यसैगरी पुतलीबजार नगरपालिकामा ११ जना, आँधीखोला गाउँपालिकामा ४ जना, अर्जुनचौपारी गाउँपालिकामा ५ जना, भीरकोट नगरपालिकामा १३ जना बिरामी देखिएका छन्। 

नेपालमा हरेक वर्ष ६९००० जना क्षयरोगका नयाँ बिरामी देखिने एक सर्वेक्षणले देखाएको छ भने करिब १६००० जना क्षयरोगका बिरामीको मृत्यु हुने गरेको छ। 

Share Post on Social media