“एचपीभी खोप अभियान” भीरकोटमा पनि तयारी तीव्र ८३३ जनालाई खोप लगाइने

जीवन अर्याल/भीरकोट: पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको एचपीभी खोप अभियान २०८१ को भीरकोट नगरपालिकामा पनि तयारी तीव्र पारिएको छ।

आज भीरकोट नगरपालिकाको सभाहलमा भीरकोट नगरपालिकाभरिका सरोकारवालाहरुसमेतको उपस्थितिमा एक कार्यक्रम गरी खोप अभियानबारे जानकारी दिइएको थियो। नगरप्रमुख गोविन्द कर्माचार्य, उपप्रमुख भगवती अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका कार्यालय प्रमुख केशव चापागाइँ, भीरकोट नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि, पत्रकारसहित अन्य विभिन्न सरोकारवाला व्यक्तिको उपस्थितिमा भीरकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले खोपबारे सहजीकरण गरेकी थिइन्।

सिनियर अहेव श्रीराम अर्यालको सञ्चालनमा आयोजना गरिएको उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाइँले समेत गरेका थिए।

के हो एचपीभी?

यो ह्युमन प्यापिलोमा भाइरस हो। महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही भाइरसलाई मानिन्छ।

पाठेघरको मुखको क्यान्सर कस्तो रोग हो?

पाठेघरको मुखको क्यान्सरलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ। यो क्यान्सर विशेष गरेर एचपीभी भाइरसको कारण हुने गर्दछ। पाठेघरको मुखको क्यान्सरको कारण नेपालमा हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्यांक छ भने क्यान्सर रोगबाट महिलाको मृ्युको पहिलो कारण यसैलाई मानिन्छ। एचपीभी भाइरस मुख्यतः यौनसम्पर्कबाट नै सर्ने गर्दछ।

कुन उमेरमा एचपीभी खोप लगाउने?

एचपीभी भाइरस विरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुन्छ। १० देखि १४ वर्ष उमेर समूह र कक्षा ६ देखि १० सम्मका छात्रालाई लक्षित गरी यो खोप कार्यक्रम सुरु गरिन लागेको हो।

कति डोज लगाउने? खोप लगाउन कहाँ जाने?

यो वर्ष एचपीभी भाइरस विरुद्धको खोप अभियानकै रुपमा नेपालभर सञ्चालन हुँदै छ। हरेक स्थानीय निकाय र विद्यालयमा यो अभियान सञ्चालन हुने छ। विद्यालय जाने छात्राले विद्यालयबाटै र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छात्राले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउने व्यवस्था गरिएको छ। यो खोपको डोज एक मात्रा मात्रै हो।

कहिलेदेखि सुरु हुँदै छ?

यो अभियान माघ २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुँदै छ।

भीरकोटको अवस्था के छ?

भीरकोटका हरेक वडाका १९ वटा विद्यालयबाट एचपीभी भाइरस विरुद्धको खोप लगाइँदै छ। भीरकोट नगरपालिकाका ८३३ जना छात्रालाई यो खोप लगाइनेछ।

Share Post on Social media