कृषकहरुले हात ठड्याउँदै भने, “हामी उत्पादन गर्छौं बजारको व्यवस्थापन गरिदिनु पर्यो”

राधाकृष्ण डुम्रे/असोज २५:

वालिङ नगरपालिका वडा नम्वर १४ का कृषकहरुले आफूहरु जति पनि उत्पादन गर्न सक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेका छन् ।

वालिङको दक्षिणी भेग पर्बतको सिमानामा व्यवसायिक  रुपमा कृषि कर्म गर्दै आएका कृषकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका हुन् । कोरोनाको माहामारीको कारण आफूहरु प्रभावित भएको बताएका छन् ।

व्यवसायिक खेती सम्वन्धी तालिम तथा कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै उनीहरुले आफूहरु विकट गाउँमा रहेकाले सही समयमा बजार र आवश्यक प्राबिधिक तथा अन्य सहयोग पाउन नसकेको गुनाशो गरेका हुन् ।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उत्पादन बढाउने उद्देश्यका साथ स्थलगत रुपमा नै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिदै आएको छ । 

सो अवसरमा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केश बहादुर थापा, वालिङ नगरपालिका वडा नम्वर १४ का समाजसेवी एबं युवा नेता राजु कुँवर, दियालो युएनडिपीका फिल्ड अधिकृत गंगाधर खनाल (राजु),स्थानीय बिद्यालयका प्रधानाध्यापक धन बहादुर हमाल, हरियाली सुन्तला उत्पादन सहकारीका अध्यक्ष गीर बहादुर खाँम्चा लगायतले बोलेका थिए ।

४० जना कृषकहरुको सहभागिता रहेको तालिममा केश बहादुर थापा र शोभाकान्त पाण्डेले प्रशिक्षण दिनु भएको थियो ।

स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।

Share Post on Social media