सेवा, प्रेम र मानवताको प्रेरणादायी सन्देशसहित बृहत रक्तदान कार्यक्रम सम्पन्न
खबरकलम संवाददाता /स्याङ्जा: “रगत नालीमा होइन, नाडीमा बगाऔं” बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै तथा सन्त निरंकारी मिसनद्वारा बाबा गुरुवचन सिंहजी महाराजको पावन स्मृतिमा नेपालसहित विश्वभर मानव एकता दिवस मनाइएको छ। स्याङ्जाको भीरकोट नगरपालिका – १ स्थित सन्त निरंकारी मण्डल नेपाल शाखा बयरघारीको सत्संग भवनमा रक्तदान कार्यक्रमको आयोजना गरी मानव एकता दिवस सत्संग कार्यक्रम मनाइएको हो । यस कार्यक्रमले सम्पूर्ण मानव जातिलाई एकता, सेवा र सद्भावको अमूल्य सन्देश दिइएको छ।
कार्यक्रमको अध्यक्षता स्थानीय मुखी श्री भीमबहादुर थापाले गरेका थिए भने प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगरप्रमुख श्री गोविन्द कुमार कर्मचार्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष दीपेन्द्र केसी , निवर्तमान मुखी यामबहादुर खत्री , निवर्तमान तथा संस्थापक उपनगर प्रमुख सीमा केसी कर्मचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष क्याप्टन मिनबहादुर के सी, नेपाली कांग्रेस भीरकोट सभापति याम प्रसाद अधिकारी लक्ष्मण लगायत अतिथिमा विभिन्न विभिन्न संघसंस्थाका बुद्धिजीवी , समाजसेवीहरू सहभागी थिए।
उक्त कार्यक्रममा नगरप्रमुख कर्माचार्यले रक्तदानको महत्व र रक्तदान गर्नाले स्वास्थ्यमा हुने फाइदा र समाजमा हुने लाभबारे विषयमा आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रमलाई भव्य तथा सभ्यताका साथ सम्पन्न गर्नका लागि प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखा तथा दहथुम शाखा, भीरकोट जेसिस पिसयुथ क्लब, लायन्स क्लब अफ भीरकोट लगायत सम्पूर्ण स्थानीय संघ संस्थाको साथ सहयोग र मार्गदर्शनका लागि तथा उक्त कार्यक्रमलाई शान्तिमय वातावरणमा सम्पन्न गर्नका लागि शान्ति र सुरक्षाको व्यवस्था गरिदिने दहथुम प्रहरी चौकीलाई समेत उनले आभार प्रकट गरे। सो कार्यक्रममा ८२ पिन्ट रगत सङ्कलन गरिएको तथा रक्तदान गर्नेमा ४८ जना पुरुष र ३४ जना महिला रहेको जानकारी कृष्णबहादुर गोदारले दिए।
बृहत रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो भने त्यसपश्चात मानव एकता दिवस सत्संग कार्यक्रम आयोजना गरिएको थियो जसमा ३०० जना भन्दा बढी श्रद्धालु भक्तहरु सहभागी थिए। उक्त सत्संग कार्यक्रममा बाग्लुङ पोखरा लगायत विभिन्न जिल्लाबाट भक्त श्रद्धालुहरू आएका थिए।
