सिदार्थ राजमार्गमा घुम्ती कटान पछि सडक कालोपत्रे गरिँदै

कार्तिक १५/खबरकलम संवाददाता: तराई र पहाड जोड्ने लाइफलाइन मानिएको सिद्धार्थ राजमार्गमा घुम्ती कटानसँगै कालोपत्रे गर्ने काम सुरु भएको छ।

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने कास्की र स्याङ्जा जिल्लाको सिमानामा पर्ने कुभिण्डेदेखि पर्यटकीय स्थल भालुपहाडसम्मका स्थानमा कालोपत्रे गर्ने काम सुरु गरेको जानकारी फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले दिएका छन्।

देशकै पूरानोमध्येको एक प्रमुख सिद्धार्थ राजमार्ग भारत सरकारको सहयोगमा स्वर्गीय राजा महेन्द्रको पालामा निर्माण भएको हो। कुल १८१ किमी लामो यस राजमार्गले सुनौली देखि पोखरासम्म छुन्छ।

सबैभन्दा बढी सडकखण्ड यो राजमार्गको स्याङ्जा जिल्लामै पर्ने भएकाले स्याङ्जा जिल्लामा यसको विस्तार कार्यलाई तिव्रता दिइएको हो।

वालिङ नगरपालिकाले यसअघि नै प्राथमिकताका साथ सडक विस्तार गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ।

गल्याङ नगरपालिका, भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिकाले पनि सिदार्थ राजमार्ग विस्तार गर्ने कार्यलाई निरन्तरता दिईरहेका छन्।

भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाको सिमाना हेलु बजारमा घुम्ती कटान गर्ने काम भईरहेको छ।

Share Post on Social media