स्याङ्जामा ६८ औं प्रहरी दिवस मनाइयो

असोज ३०/राम बहादुर रोकाहा: नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस मनाएको छ ।
`गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा´ मुल नारा सहित स्याङ्जा प्रहरीले विविध कार्यक्रम गरी प्रहरी दिवस मनाएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर दिवसको सुभारम्भ गरेका थिए।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्याङ्जा प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको बताए। उनले प्रहरी र प्रहरीको कार्यसम्पादनमा प्रश्न उठेतापनि, स्रोतसाधन सीमित हुँदा पनि स्याङ्जा प्रहरीले सामान्य घर झैझगडा लगायत जिल्लाभर भएगरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै स्याङ्जा प्रहरीले गर्ने अपराध अनुसन्धान साथै हरेक कार्यक्षेत्रमा अब्बल रहेको समेत स्मरण गराए।

सोही कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा ,प्रहरीका सकारात्मक कार्य साथै प्रहरी समुदायसँग साझेदारी गर्दै अगाडि बढ्नु पर्ने कुराको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउत, प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाल , प्रहरी निरीक्षक पावल सिंह लामा , नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा , नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, पुर्व प्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठ लगायतले चर्चा गरेका थिए ।

सोही अवसरमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरद्वारा प्रेषित सुभकामना सन्देश वाचन गरिएको थियो भने विभिन्न समयमा स्याङ्जा प्रहरीलाई कामकारबाहीमा र अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा सहयोग गरि सामुदायिक स्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनलाई उल्लेखनीय सहयोग पुर्याउने सर्वसाधारणहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै स्याङ्जा जिल्ला घर भई कार्य शिलशिलामा विभिन्न ठाउँमा वीरगति प्राप्त अमर प्रहरीका परिवारलाई र जेष्ठ पूर्व प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्याङ्जा प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, प्रहरी दिवसका सन्दर्भ पारेर विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय परिसर र मातहतका कार्यालय परिसरमा वृक्षरोपण गरिएको ,विद्यालयस्तरमा आयोजित `समुदायमा नेपाल प्रहरीको भुमिका´ निबन्ध प्रतियोगिताका विजेताहरुलाई साथै कार्यालयले आन्तरिक रुपमा संचालन गरेका खेल ब्याडमिन्टन , टेबलटेनिसका विजेताहरुलाई नगद पुरस्कार , मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रजिअ शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा स्याङ्जा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतको अध्यक्षतामा साथै अन्य सुरक्षा निकायका प्रमुखहरु, पुर्व प्रहरी संगठनका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु,पत्रकार,समाजसेवी, पुर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार, जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी निरीक्षक पावल सिंह लामाले संचालन गरेका थिए।

Share Post on Social media