विपन्न परिवारलाई घर बनाइदिँदै चापाकोट नगरपालिका

कार्तिक २०/ सुनिल न्यौपाने: चापाकोट नगरपालिकाले अति विपन्न परिवारका लागि घर बनाइदिने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अति विपन्न परिवारका लागि निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेको हो।

चापाकोट नगरपालिकाभित्र रहेका १० वटै वडामा पहिचान गरिएका अति विपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको चापाकोट नगरप्रमुख देवबहादुर खाण(ईश्वर)ले बताए । चालु आर्थिक वर्षमा ५ घर निर्माण गर्ने योजनाअनुसार काम सुरु गरिएको उनले बताए । सबै वडामा कम्तीमा एक अति विपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए ।

‘सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । हामीले सबै वडामा अतिविपन्न परिवार छनोट गरेका छौँ, सोहीअनुसार टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ’, नगरप्रमुख खाणले भने, ‘अतिविपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभूति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ, त्यस्ता परिवार सुरक्षितरूपमा घरमा बस्नसमेत पाउनेछन् ।’

नगरपालिकाले पहिलो चरणमा ५ घर निर्माण गर्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरणमा वडा न.७ की सीता दर्जी वडा न. ४ का रोमन विक र केश बहादुर दमै वडा न.१० की माया भट्टराई र दिवस विकको घर बनाइदिने नगरपालिकाले जनाएको छ।साथै अन्य चरणमा सबै वडामा एक–एकवटा अतिविपन्न परिवारका लागि घर निर्माण हुनेछ ।

चापकोट नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजित बजेटबाट घर निर्माणको सबै काम पूरा गरेर अति विपन्न परिवारलाई हस्तान्तरण गर्ने बताएको छ।

Share Post on Social media