पुत्री शोकमा डुबेका पारस गैह्रेलाई सान्त्वना दिँदै शुभचिन्तकहरु

मंसिर २/स्याङ्जा:

पुत्री शोकमा डुबेका नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेलाई उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट सान्त्वना सन्देश प्रवाह गरिरहेका छन्।

प्रदेश सभा सांसद भागवत प्रकाश मल्लले गहिरो समवेदना व्यक्त गर्दै बालिका अतिथि गैह्रेको निधनले आफू निशब्द भएको बताए।

नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेलाई परेको पुत्री शोकमा चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले समवेदना प्रकट गरेका छन्।

उनले एक श्रदाञ्जली सन्देश दिँदै अतिथि गैह्रेको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने प्रार्थना समेत गरेका छन्।

यसैगरी नेपाली कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनीले समेत श्रद्धाञ्जली प्रकट गरेका छन्। पारस गैह्रेलाई परेको पुत्री शोकले आफूसमेत मर्माहत भएको बताउँदै दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति समेत आओस् भन्दै उनले कामना गरेका छन्।

नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति देब बहादुर खाँण (ईश्वर)ले पनि समवेदना सन्देश दिँदै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्।

नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी एक मात्र सुपुत्री अतिथि गैह्रेलाई भाइटीका लगाउने क्रममा हिजो मंसिर १ गते पुतलीबजार नगरपालिकाको लामागेमा अरिंगालले चिल्दा उपचारको क्रममा पोखरामा निधन भएको थियो।

उनको आजै अन्तिम संस्कार गरिएको छ।

Share Post on Social media