मृगौला रोगबाट पीडितलाई यी मनकारीले जुटाए सहयोग

मंसिर १७/ दिवस भण्डारी: नेपालीहरु हर कोहीको दु:खमा एक हुन्छन्। उनीहरुलाई दु:खले छिटो छुन्छ र सहयोगी बन्छन्।‌

यस्तै, दुई स्याङ्जालीको दु:खमा अर्का स्याङ्जाली सहयात्री बनेर खडा भएका छन्। स्याङ्जा सहयोग समाज अमेरिकाका सदस्य समेत रहेका दिनदयाल भण्डारी ‘दिनेश’ ले दुई जना मृगौलारोगीको उपचारका निम्ति अभियान नै चलाएका छन्।

मृगौला रोगीलाई सहयोग गर्न अमेरिकामा आर्थिक संकलनको अभियानमा जुटेका उनले संकलन गरेको रकम दुई लाख आठ हजार सात सय सतसठ्ठी रुपैयाँ मृगौला रोगबाट पीडित परिवारलाई बुझाइएको छ।

गल्याङ नगरपालिका वडा नं १ निवासी ४८ वर्षीया लक्ष्मी पराजुली बस्याल तथा २६ वर्षीय विष्णु बिक मृगौला समस्याका कारण लामो समयदेखि उपचाररत थिए। आर्थिक अवस्था समेत कमजोर भएकाले उनीहरुको उपचारमा पनि समस्या रहेको थियो।

उनीहरुको समस्या पनि आफ्नै समस्या जस्तो मानेर सहयोग संकलन अभियान गरिएको उक्त अभियानका संयोजक भण्डारीको भनाइ छ। आउँदा दिनमा समेत सहयोग कार्यलाई निरन्तरता दिने उनले बताएका छन्।

Share Post on Social media