सरकारले २० प्रतिशतलाई पुग्ने गरी कोरोना खोप ल्याउने

मंसिर २०/काठमाडौं: सरकारले कोरोना भाइरस (कोभिड १९) को खोप ल्याउने तयारी भैरहेको जनाएको छ।

विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ।

मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। 

उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। उनले सुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए।

कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ।  गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ। 

Share Post on Social media