सार्वजनिक सुनुवाइको भुक्तानी २ वर्ष पुग्दा पनि नपाएको सेवा प्रदायकको गुनासो

खबरकलम संवाददाता/वैशाख १५: सुशासन र आर्थिक पारदर्शिता कायम गर्नका लागि आयोजना हुने सार्वजनिक सुनुवाई कार्यक्रममा खर्च भएको रकम दुई वर्ष पुग्दा पनि भुक्तानी नदिइएको गुनासो प्राप्त भएको छ।

आर्थिक वर्ष २०७५/७६ मा बालोदय मा.वि सुन्दरबजारमा भीरकोट नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा टेन्ट सेवा उपलब्ध गराएबापतको भुक्तानी अझैसम्म नपाएको गुनासो सेवा प्रदायकले गरेका छ्न्। रेग्मी क्याटरिङ एण्ड टेन्ट हाउसका संचालक यादव रेग्मीले २ वर्ष बितिसक्दा पनि टेन्ट सेवा उपलब्ध गराएबापतको भुक्तानी नपाएको बताएका हुन्।

उक्त सार्वजनिक सुनुवाइको व्यवस्थापनको जिम्मा बागेश्वरी असल शासन (बास) स्याङ्जाले लिएको थियो। बास स्याङ्जाका अध्यक्ष चुत्र बहादुर महतले नगरपालिकाबाट भूक्तानी लिएको भएतापनि टेन्ट हाउसलाई लामो समयसम्म भूक्तानी नगरेका हुन्।

भीरकोट खबरका प्रधान सम्पादक समेत रहेका महतलाई यस विषयमा फोन सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन। असल शासन कायम गर्नका लागि खबरदारी गर्ने असल शासन क्लबले सार्वजनिक सुनुवाइमा भएको खर्चको भूक्तानी लामो समयसम्म नगर्नुले सुशासनको स्तर छर्लङ्ग पारेको छ।

असल शासन क्लबकै संयोजक समेत रहेका पत्रकारले समयमै भुक्तानी नगर्दा उनको कार्यशैलीमाथि यसले आशंका उब्जाएको छ।

Share Post on Social media