स्याङ्जाको भीरकोटमा निशुल्क मास्क वितरण कार्य सुरु, स्याङ्जामै जनस्वास्थ्य विपदको घोषणा

रवि थापा: वैशाख १८/ स्याङ्जा: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा निशुल्क मास्क वितरण कार्यक्रम सुरु भएको छ।

भीरकोट नगरपालिकाको सक्रियता तथा भीरकोट उद्योग वाणिज्य संघको आयोजना र प्रायोजनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

सरकारले अनिवार्य मास्क प्रयोग गर्न, अत्यावश्यक बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन गरेको अनुरोध वेवास्ता गर्दै सर्वसाधारण बाहिर निस्कन थालेपछि स्थानीय व्यापारी र सरोकारवाला मिलेर मास्क वितरण कार्य सुरु गरेका हुन्।

भीरकोट मुकाम बयरघारी बजारको ९९ चोकबाट सुरु भएको मास्क वितरण कार्य नगरका अन्य स्थानहरूमा पनि विस्तार गर्दै लैजाने जानकारी भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले गराएका छन्। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पनि “मास्क खोई?” अभियान जिल्लाभर तिव्र बनाएको छ।

साथै, स्याङ्जा जिल्लाकै वालिङ नगरपालिकाले आज रातिबाट लागू हुने गरी वैशाख २५ गते राति १२ बजे सम्मका लागि जनस्वास्थ्य विपदको घोषणा गरेको छ। अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको उक्त नगरपालिकाद्वारा जारी भएको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो समय स्याङ्जा जिल्लामा कोरोना संक्रमित धमाधम थपिन थालेपछि यहाँका ११ वटै स्थानीय निकायहरु सक्रिय बनेका छन्।

Share Post on Social media