आफ्नो ठाउँ आफै बनाउन जुटे स्याङ्जाका युवा, भन्छन्, सरकारको मात्र मुख ताक्नु पर्दैन

जेठ १८/ स्याङ्जा: स्याङ्जा जिल्लामा युवाहरु आफ्नो ठाउँ आफै बनाउन जुटेका छन्।

कोरोना भाइरसको महामारीले देशभर लकडाउन तथा निषेधाज्ञा जारी भएका कारण अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु ठप्प छन्। मानिसहरु घरभित्रै बसिरहनुपर्ने अवस्था सृजना भएको छ।

तर, स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाका सक्रिय युवाहरु भने जनश्रमदानबाट बाटो निर्माणमा जुटेका छन्। राज्यको‌ मात्रै मुख नताकी आफ्नो गाउँ आफै बनाऔँ भन्ने अभियानका साथ बाटो निर्माणमा जुटेको जानकारी युवा कृषक पिताम्बर अर्यालले बताए।

अर्जुन चौपारी गाउँपालिका वडा नं १ थापाथोकका युवाहरु लकडाउनको फुर्सदिलो समयलाई उपयोग गर्दै सुरक्षा सावधानी सहित बाटो निर्माणमा लागेका हुन्।

थापाथोकसम्म पुग्ने ग्रामीण उक्त सडकमा नाला काट्ने, सडक सम्माउने तथा पक्की नाला निर्माण गर्ने कार्य स्थानीय जनश्रमदानबाट भइरहेको छ।

उक्त स्थानका युवाहरुबाट आफ्नो गाउँ ठाउँको विकास आफै गर्न सकिन्छ र, सरकारको मात्रै मुख ताक्नुपर्दैन भन्ने पाठ सिक्न सकिन्छ।

Share Post on Social media