स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको प्रजिअ पौडेलद्वारा उद्घाटन

माघ १८/स्याङ्जा: राम बहादुर रोकाहा:-स्याङ्जा जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा प्रजिअ राजुप्रसाद पौडेलद्वारा अक्सिजन प्लान्टको उद्घाटन भएको छ ।


स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कुमाल गाउँमा अवस्थित जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको आज बिहान करिब साँढे नौ बजे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको हो ।


विगत लामो समयदेखि जडान गरिएको अक्सिजन प्लान्ट विद्युतको पर्याप्त मात्रा(भोल्टेज) नभएको हुँदा संचालनमा आएको थिएन । यसै क्रममा यहि माघ १० गते गण्डकी प्रदेश जनसंख्या तथा स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले निरीक्षण गरि आवश्यक विद्युत जडान गर्न निर्देशन दिई सो निर्देशन पश्चात् थप मात्रामा विद्युत जडान गरि आजबाट संचालनमा आएको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा.रमेश प्रसाद आचार्यले जानकारी दिनुभयो ।
स्याङ्जाका प्रजिअ , जिल्ला अस्पताल स्याङ्जाका प्रमुख लगायत करिब २० जनाको सहभागितामा अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

Share Post on Social media