विरुवामा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रम सम्पन्न

फागुन १२/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा एक कार्यक्रमका बीच नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

विरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले रिवन काटेर शिलालेख अनावरण गर्दै उक्त भवनको उद्घाटन गरेका हुन्। सोही कार्यक्रममै विरुवा स्वास्थ्यचौकीमा एक्सरे सेवाको समेत उद्घाटन गरिएको छ।

विरुवा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष एवं विरुवा स्वास्थ्यचौकी संचालक समितिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवीकुमारी थापा, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीय आमा समूहका सदस्यहरु, जनसमुदाय लगायत अन्य संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष देवीकुमारी थापा, नि. प्रमुख प्रशासकीय अधिकृत गोगनसिंह थापा, विरुवा गाउँपालिका सामाजिक बिकास समिति अध्यक्ष तथा वडा नं ५ का वडाध्यक्ष इन्द्र प्रसाद पौडेल, नेपाली कांग्रेस विरुवा गाउँ कमिटी अध्यक्ष डोलराज पोख्रेल, नेकपा एमाले गाउँ कमिटी प्रतिनिधि सूर्य कुवँर, माओबादी केन्द्रको तर्फबाट पहल सिंह वि.क. लगायतले आ-आफ्नो मन्तब्य राख्दै नवनिर्मित भवनबाट सेवा प्रदान गर्दा सेवाको गुणस्तरमा वृद्धि भई पालिकाबासी जनताहरुको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार हुने अपेक्षा राखे। सोही कार्यक्रममा भवन निर्माण गर्नको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउनुहुने दानवीरलाई समेत सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा जग्गादाता तुलबहादुर खड्का, हेम बहादुर खड्का र नुरधोज खड्का स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यचौकी प्रमुख सि.अ.हे.व. श्री इन्द्र प्रसाद पौडेलले स्वास्थ्यचौकीको सेवा प्रवाहको विषयमा हालसम्मको अवस्थाको प्रतिवेन प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन विरुवा गाउँपालिका प्रशासन शाखा प्रमुख श्रीराम वाग्लेले गरेका थिए।

Share Post on Social media