वालिङमा नयाँ डिएसपी र पत्रकारहरुको अन्तरक्रिया र परिचयात्मक कार्यक्रम सम्पन्न

चैत ६/जीवन अर्याल: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा अवस्थित वडा प्रहरी कार्यालयका नयाँ कार्यलय प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले पत्रकारहरुसँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन्।‌

वडा प्रहरी कार्यालय वालिङमा आजबाट पदभार ग्रहण गर्दै प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायमको निमित्त सहकार्य गर्न आफू तयार रहेको बताएका थिए। पत्रकार महासंघ स्याङ्जा, प्रेस चौतारी स्याङ्जामा आबद्ध पत्रकारहरुसँग कुरा गर्दै डिएसपी खतिवडाले सत्य सूचना प्रवाह गर्न र समाजमा न्यायको अनुभूति गर्न नपाएकाहरुलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।

वडा प्रहरी कार्यालय वालिङको प्रमुखमा प्रहरी निरीक्षकको दरबन्दी स्वीकृत भएकाले आफू काजमा आएको र चाँडै नै काज दरबन्दीलाई स्थायी दरबन्दी बनाउन पहल गर्ने उनको भनाई थियो। २०६१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा सुरु गरेका खतिवडा ६ वर्ष अघि प्रहरी नायब उपरीक्षकमा बढुवा भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यान तथा इलाका प्रहरी कार्यालय धरानमा यसअघि काम गरिसकेका खतिवडा सिनियर डिएसपीहरुमध्ये एक हुन्।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जा जिल्लाकै संवेदनशील स्थानको प्रहरी कार्यालय हो। भीरकोट नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिकाका अपराध अनुसन्धान र शान्ति सुव्यवस्था तथा मुद्दा दर्ता सम्बन्धी सम्पूर्ण कामकाजहरु वडा प्रहरी कार्यालय वालिङबाटै संचालन हुन्छन्।

स्याङ्जा जिल्लाको राजनैतिक, आर्थिक तथा व्यापारिक केन्द्र वालिङ भएकाले पनि यो ठाउँमा डिएसपीको दरबन्दी आवश्यक रहेको र डिएसपी नै कार्यालय प्रमुखको रुपमा पाउँदा आफूहरु हर्षित भएको पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रेले बताए। प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशिल सुवेदीले सिदार्थ राजमार्ग लागूऔषध तस्करको मुल ट्रान्जिट बन्दै गएकाले यसमा विशेष ध्यान दिन अनुरोध गरेका थिए। प्रेस चौतारी स्याङ्जाका सचिव जीवन अर्यालले वालिङमा भएगरेका घटनाका सूचना पाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई नै गुहार्नुपर्ने अवस्था रहेकाले यसबारे समन्वय गरी वालिङबाटै सूचना पाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए।‌

प्रेस चौतारी गण्डकी प्रदेश सचिव गोपाल जिटी, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोइराला, पिएनएन खबर डटकमका सम्पादक तथा पत्रकार महासंघ पर्वतका उपाध्यक्ष नारायण निर्भिक, वालिङ टिभीका मोहन सुनार लगायतका संचारकर्मीले डिएसपीको स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

Share Post on Social media